ललितपुरमा दुई पांग्रे सवारी साधन पास वितरणमा रोक

प्रशान्त माली

ललितपुर — जिल्ला प्रशासन कार्यालय ललितपुरले सोमबारबाट अर्को सूचना जारी नभएसम्मका लकडाउनका बेला दुई पांग्रे सवारी साधन सञ्‍चालनका लागि दिँदै आएको अनुमति पत्र (सवारी पास) मा रोक लगाएको छ ।

ललितपुरमा दुई पांग्रे सवारी साधन पास वितरणमा रोक

सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम गर्न आइतबार लकडाउनको अवधि ८ दिन थपेसँगै सवारी पास लिनेको भीड बढेपछि मोटरसाइकल पास वितरणमा रोक लगाइएको प्रशासन कार्यालयले जनाएको छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेयले पास दिनै नसक्ने अवस्था आएकाले रोक्नु परेको बताए । ‘अलपत्र परेका कामदार लैजानु परेमा चार पांग्रे सवारीका लागि पास दिइन्छ,’ उनले भने, ‘व्यक्तिगत रूपमा सवारी सञ्चा‍लन गर्नका लागि पास दिन नसकिने भयो ।’

जिल्ला प्रशासन कार्यालय ललितपुरले कोभिड–१९ का कारण जिल्लाबाट उपत्यका बाहिर आफ्नो घर जानका लागि सोमबारसम्म झन्डै ७ सय वटा सवारी साधनलाई अनुमति पत्र उपलब्ध गराएको छ । प्रशासनका अनुसार सवारी पास लिनेमा ४ सय ७२ वटा चार पांग्रे र २ सय २५ वटा मोटरसाइकल छन् ।

हालसम्म झन्डै १० हजारभन्दा बढीले ललितपुर छाडिसकेको प्रशासनका प्रशासकीय अधिकृत दीपकप्रसाद न्यौपानेले बताए । लकडाउन, कर्फ्यू, निषेधाज्ञालगायतका बेला अति जरुरी कामले यात्रा गर्नुपर्ने सर्वसाधारणलाई प्रशासनले सवारी पास उपलब्ध गराउने गर्छ ।

प्रकाशित : चैत्र १७, २०७६ १५:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?