बिस्केट जात्रा औपचारिक पूजाआजामा मात्रै

चैत्र १०, २०७६

कान्तिपुर संवाददाता

भक्तपुर — कोभिड–१९ (कोराना भाइरस) संक्रमणको जोखिमप्रति संवेदनशील हुँदै यस वर्षको बिस्केट जात्रालाई औपचारिक पूजाआजामा मात्र सीमित गरिने भएको छ ।

भक्तपुर नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सोमबार बसेको बिस्केट जात्रा सञ्चालन कार्यदल २०७६ को बैठकले बिस्केट जात्राको मूल जात्रा तथा टोलटोलमा हुने तिप्वा जात्रा, खःल्वाकेग जात्रा, द्यो स्वगं वियगु जात्रालगायत अन्य जात्राहरुसमेत औपचारिक पूजाआजामा सीमित गर्ने निर्णय गरेको हो । जात्रासँग सम्बन्धित व्यक्तिहरु, सर्वसाधारणको आग्रहमा उक्त निर्णय गरेको नगरपालिकाले जनाएको छ ।  

कार्यदलमा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, सुरक्षा निकायका प्रमुखहरु, गुठी संस्थानको कार्यालय भक्तपुर, विद्युत् प्राधिकरण, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, नेपाल टेलिकम भक्तपुर शाखा, भैल नायो, बिस्काः जात्रा सहयोग समिति लगायतका प्रतिनिधिहरु सदस्य रहेका छन् । 

बिस्केट जात्रा भक्तपुरबासीको महत्वपूर्ण पर्व हो । प्रत्येक वर्ष चैतको अन्तिम सातामा सुरु भई नयाँ वर्षसँगै वैशाख महिनाको पहिलो हप्तासम्म चल्ने आठ रात–नौ दिन चल्ने बिस्केट जात्रा अवलोकन गर्न हजारौंको भीड लाग्छ ।  

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully