साउन २१ देखि २५ गतेसम्म भृकुटीमण्डपमा हुने प्रदर्शनीमा ५० वटाभन्दा बढी अटोमोबाइल ब्रान्ड सहभागी हुँदै
What you should know
काठमाडौँ — नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)ले आयोजना गर्ने नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ वटा नयाँ सवारीसाधन सार्वजनिक गरिने भएको छ ।
साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने एक्स्पोमा ५० भन्दा बढी अटोमोबाइल ब्रान्डको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।
सोमबार सोल्टी होटलमा आयोजित पत्रकार सम्मेलनमा नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले सम्पूर्ण तयारी पूरा भइसकेको बताए । कार्यक्रममा अटो एक्स्पो समिति प्रमुख शिरीषकुमार मुरारकाले यसपटकको एक्स्पो राजधानीको केन्द्रमा रहेको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा आयोजना हुने बताए । उनले मेलाको भौतिक पूर्वाधार सबैको पहुँचयोग्य र अपाङ्गमैत्री हुने बताए ।
यसपटक प्रदर्शनीमा १५ वटा दुई पाङग्रे, १५ वटा चार पाङग्रे र ५ वटा व्यावसायिक गाडी सार्वजनिक गरिने छ । विद्युतीय सवारीसाधनदेखि नवीनतम मोबिलिटी समाधानहरू प्रदर्शनीमा प्रस्तुत गरिने अटो एक्स्पो समितिका सदस्य गौरव सारडाले बताए ।
प्रदर्शनीलाई लक्षित गरी नाइमाले विशेष अनलाइन भिडियो प्रतियोगिता पनि सार्वजनिक गरेको छ । प्रतियोगितामा २१ साउनसम्म सामाजिक सञ्जालमा अपलोड गरिएका उत्कृष्ट भिडियोलाई १ लाख पुरस्कार प्रदान गरिनेछ भने श्रावण २१ देखि २५ भित्र अपलोड भएका १० वटा उत्कृष्ट भिडियोलाई जनही १० हजार पुरस्कार दिइनेछ ।
प्रदर्शनीको पाचौं दिन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरू सहभागी हुने प्यानल छलफल आयोजना हुने छ । बैंकर अनिलकेशरी शाहले 'मोबिलिटी हिजो, आज, र भोलि' विषयमा सत्र सञ्चालन गर्नेछन् । अन्य सत्रहरूमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, शिक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, र भारतको रोड ट्राफिक एजुकेसन इन्स्टिच्युटका विज्ञहरूको सहभागिता रहने भनिएको छ ।
यो मेलामा प्रवेश टिकट खल्ती बाई आईएमईमार्फत उपलब्ध हुनेछ । बिक्री भएका टिकटको ५ प्रतिशत रकम शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सहकार्यमा मोबिलिटीसम्बन्धी विषयमा छात्रवृत्ति तथा फेलोसिपका लागि खर्च गरिने आयोजकले जानकारी दिएको छ ।
प्रदर्शनीका मुख्य प्रायोजक एभरेष्ट बैंक लिमिटेड र नेसनल इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रविधिमैत्री र दिगो यातायात प्रणालीको विकासमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राइड पार्टनर पठाओले भृकुटीमण्डप गन्तव्य भएका यात्रुहरुका लागि ३० प्रतिशत छुट दिने जनाएको छ ।
नाइमा अध्यक्ष रितु शिंह वैद्यले मोबिलिटी एक्स्पो नेपालकै सबैभन्दा ठूलो र प्रभावशाली अटोमोबाइल प्रदर्शनी बन्ने विश्वास व्यक्त गरिन् ।
