धेरै जसो स्वतन्त्र उठे, थपिए नयाँ अनुहार
रौतहट — आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि रौतहटको चारवटै क्षेत्रबाट १४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । चारै क्षेत्रमा पुरुष १३० र महिला १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । १०८ जना नयाँले पहिलो पटक चुनावमा भाग लिएका छन् । स्वतन्त्र ७० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, आमजनता पाटी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी, जनमत पार्टी, उज्यालो नेपाल लगायतका पार्टी र स्वतन्त्रले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचनको कार्यालयले जनाएको छ ।
क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ता भएका ३९ मध्ये पुरुष ३६ र महिला ३ जना छन् । यो क्षेत्रमा २० जना स्वतन्त्र उम्मेदवारले दर्ता गराए । ३० जना नयाँ अनुहार थपिएका छन् । यस क्षेत्रबाट नेपाली कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपाल लड्दै छन् ।
क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता भएका २६ मध्ये सबै पुरुष छन् । यो क्षेत्रमा एक जना पनि महिलाले उम्मेदवारी दिएनन् । दर्ता भएकामध्ये १५ जना स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन कार्यालयले जनायो । यो क्षेत्रमा १६ जना नयाँ अनुहार थपिएका छन् ।
क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता भएका ४१ मध्ये पुरुष ३८ र महिला ४ जना छन् । यो क्षेत्रमा २५ जना स्वतन्त्र उम्मेदवारले दर्ता गराए । ३२ जना नयाँ अनुहार थपिएका छन् ।
क्षेत्र नम्बर ४ मा उम्मेदवारी दर्ता भएका ३७ मध्ये पुरुष ३० र महिला ६ जना छन् । यो क्षेत्रमा २० जना स्वतन्त्र उम्मेदवारले दर्ता गराए । ३० जना नयाँ अनुहार थपिएका छन् ।
