उनीहरूले मंगलबार राजविराज–७ सप्तरी जिल्ला खेलकुद विकास समितिको कार्यालयस्थित निर्वाचन अधिकृतको कार्यालय आएर उम्मेदवारी दर्ता गराएका हुन् ।
राजविराज — सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउत, पूर्वसिँचाइमन्त्री उमेशकुमार यादव, पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहलगायत ३४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरूले मंगलबार राजविराज–७ सप्तरी जिल्ला खेलकुद विकास समितिको कार्यालयस्थित निर्वाचन अधिकृतको कार्यालय आएर उम्मेदवारी दर्ता गराएका हुन् ।
पूर्वसिँचाइमन्त्री यादवले जनता समाजवादी पार्टी (जसपा) नेपाल, पूर्वमुख्यमन्त्री सिंहले स्वाभिमान पार्टीबाट उम्मेदवारी दर्ता गराएका हुन् । यहीँ क्षेत्रबाट दोहोर्याएर उम्मेदवारी दिएका राउतले २०७९ को निर्वाचनमा ३५ हजार ३२ मत ल्याएर निर्वाचित भएका थिए । २०७९ कै निर्वाचनमा जनमत पार्टीबाटै सिंहले २(क) मा १६ हजार ४३४ मत ल्याएर निर्वाचित भएका थिए । केही दिनअघि उनले जनमत पार्टी र प्रदेशसभा सदस्यबाट राजीनामा दिएका थिए ।
२०७० सालको संविधानसभा चुनावमा सप्तरी–३ बाट निर्वाचित भएका पूर्वसिँचाइमन्त्री यादवले २०७४ मा जसपा अध्यक्ष उपेन्द्र यादवसँग चुनाव लडेका थिए । तत्कालीन नेकपा माओवादी केन्द्रबाट चुनाव लडेका उनले यादवले ११ हजार ५७९ मत ल्याउँदा उपेन्द्रले २१ हजार ६२० मत प्राप्त गरेका थिए ।
नेपाली कांग्रेसबाट रामकुमार यादवले उम्मेदवारी दर्ता गराएका छन् । उनी पार्टीका जिल्ला कार्यसमितिका उपसभापति हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का युवा उम्मेदवार रामजी यादवले उम्मेदवारी दर्ता गराएका छन् । पेसाले इन्जिनियरसमेत रहेका उनी राजविराज नगरपालिकाका पूर्वनगरप्रमुख शम्भु यादवका छोरी ज्वाइँ हुन् ।
नेकपा एमालेबाट मो.जियाउल रहमान, नेपाल कम्युनिस्ट पार्टीबाट सूर्यनाथ यादव, राष्ट्रियमुक्ती पार्टी नेपालबाट अनिश अन्सारी, उज्यालो नेपाल पार्टीबाट दीपक चौधरी, नेपाल जनता पार्टीबाट रन्जुकुमारी झा (ठाकुर), श्रम संस्कृति पार्टीबाट त्रिभुवन खंग, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अजयकुमार दास, नेपाल मजदुर किसान पार्टीबाट निलमकुमारी यादवलगायत २० जना राजनीतिक दलबाट र १४ जना स्वतन्त्र गरी ३४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
