बाढीले सडकमा १५ मिटरसम्म लामो र झन्डै १० फिट गहिरोसम्मको खाडल बनाएको छ ।
सर्लाही — सर्लाहीमा शनिबार राति आएको अविरल वर्षापछिको बाढीले कौडेनास्थित हुलाकी सडक भत्किएको छ । दक्षिणी क्षेत्रको लाइफलाइन मानिएका हुलाकी सडक भत्किँदा स्थानीयले सास्ती बेहोर्नु परेको छ ।
बाढीले सडकमा १५ मिटरसम्म लामो र झन्डै १० फिट गहिरोसम्मको खाडल बनाएको छ । खाडलमा पानी भरिएपछि यात्रुले सास्ती खेप्दै आएका छन् । तर सोमबारदेखि कटान गरेको सडकमा गाउँका युवाहरूले बाँसको अस्थायी लच्का बनाएपछि ग्रामीण क्षेत्रका यात्रुहरूलाई केही सहज भएको छ ।
लच्काबाट मोटरसाइकल, साइकल र पैदलयात्रु मात्र आवतजावत गर्न मिलेको छ । तर यात्रु ओहोरदोहोर गरेबापत उनीहरूले चर्को रकम लिइरहेका छन् । पैदल यात्रुसँग १० रुपैयाँ तथा मोटरसाइकल चालकसँग १सय रुपैयाँ उठाइएको छ ।
सदरमुकाम मलंगवासहित भारतीय सीमा नजिकका ५० ग्रामीण बस्तीलाई जोड्ने यस हुलाकी मार्ग बाढीले बगाएपछि सम्पर्क टुटेको छ ।
कौडेना गाउँपालिका अध्यक्ष रुपेशकुमार यादवले जिल्ला प्रशासन र हुलाकी सडक आयोजनासँग सडक बनाउने विषयमा छलफल भइरहेको जानकारी दिए । उनले तत्कालीन रूपमा गाउँपालिकाले सडक सञ्चालनको प्रयास गरिरहेको बताए ।
