रौतहटको सदरमुकाम गौर बजार जलमग्न 

सीमाक्षेत्रमा भारतले लगाएको बाँधका कारण पानीले निकास नपाउँदा गौर डुबानमा पर्ने गरेको छ । गौर बजार जलमग्न भएको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिए ।

आश्विन १८, २०८२

शिव पुरी

Gaur Bazar, the headquarters of Rautahat, was submerged

रौतहट — लगातारको वर्षाका कारण रौतहटको सदरमुकाम गौर जलमग्न भएको छ । शनिबार दिउँसोदेखि गौर जलमग्न हुँदा स्थानीय  जनजीवन प्रभावित बनेको छ । सबैभन्दा बढी डुबान भन्सार क्षेत्रमा छ । 

अपराह्न ४ बजेसम्मको रेकर्डअनुसार सबैभन्दा धेरै वर्षा रौतहट जिल्लामा भएको छ । २४ घण्टामा सबैभन्दा धेरै सदरमुकाम गौरमा २४३.६ मिलिमिटर वर्षा मापन भएको छ ।

सीमाक्षेत्रमा भारतले लगाएको बाँधका कारण पानीले निकास नपाउँदा गौर डुबानमा पर्ने गरेको छ । गौर बजार जलमग्न भएको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिए । ‘गौर बजारमा पानी जमेर हिँड्डुल गर्न समस्या भएको छ,’ उनले भने,‘पानी पर्न छाडेको छैन । यस्तै अवस्था रह्यो भने समस् बढ्न सक्छ । हामीले जिल्लाभरि हाईअलर्ट गराएका छौं ।’ 

बागमती र लालबकैया नदीमा बाढी आयो भने सबैभन्दा बढी खतरा हुने प्रशासनको बुझाइ छ । यी दुवै नदीमा लगाइएको बाँध कमजोर भएकाले भत्किने डर वरपरका स्थानीयलाई छ ।

भारतीय बाँध र पूर्वमा बागमती पश्चिममा लालबकैया नदीमा पानीको सतह बढेकाले गौरमा जमेको पानी बाहिर जान पाउँदैनन् । यही कारण डुबानको समस्या भोग्नु परेको गौर नगरपालिकाका नगरप्रमुख शम्भू साहले बताए । 

Gaur Bazar, the headquarters of Rautahat, was submerged

शिव पुरी उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully