धानले गाँज हाल्ने समयमा खेत सुक्खा रहेको र पानी अभावले धानको ब्याडसमेत सुकेको किसान बताउँछन् ।
What you should know
सर्लाही — सर्लाहीको कविलासी नगरपालिका–२ पिपरियाका अलि शेष बर्सेनि ४ बिघामा धान लगाउँछन् । खेतमा उत्पादन भएको धान आफ्नो परिवारलाई वर्षभरि पुग्ने गरी राखेर १ सय ५० क्विन्टल हाराहारी बिक्री गर्छन् ।
धान बिक्रीको रकमले नै उनको परिवारको गुजारा चलेको छ । तर यो वर्ष उनको खेत बाँझै छ । साउनको दोस्रो साता बित्न लाग्दासमेत पर्याप्त मात्रामा आकाशे वर्षा नहुँदा मधेशमा खेत बाँझै छ । धानले गाँज हाल्ने समयमा खेत सुक्खा रहेको र पानी अभावले धानको ब्याडसमेत सुकेको शेषले सुनाए । ‘अरू बेला धान बेच्थें । अब त धान किन्नुपर्ने दिन पो आउलाजस्तो छ,’ उनले भने ।
सर्लाही, हरिपुर नगरपालिका–३ फरहदवाका पुरन महतो दुई बिघामा धान खेती गर्दै आएका छन् । उनले पनि बर्सेनि ७० क्विन्टल हाराहारी धान बेच्छन् । ‘यो वर्ष त आफूले खानलाई पनि धान पुग्लाजस्तो छैन,’ उनले भने । कृषि ज्ञान केन्द्र मलंगवाका अनुसार सर्लाहीमा आर्थिक वर्ष २०७९/८० मा ४६ हजार हेक्टरमा ३ दशमलव ५ मेट्रिकटन धान उत्पादन भएको थियो । यस्तै, २०८०/८१ मा ४४ हजार हेक्टरमा ३ दशमलव २५ मेट्रिकटन र २०८१/८२ मा ४४ हजार हेक्टरमा ३ दशमलव ८ मेट्रिकटन धान उत्पादन भएको थियो । ‘तर यो वर्ष पानी नपरेर धान उत्पादनमा कमी आउने देखिएको छ,’ ज्ञान केन्द्र मलंगवाका प्रमुख कमलदेवप्रसाद महतोले भने ।
सर्लाहीमा उत्पादित धानको चामल काठमाडौं, पोखरा, वीरगन्जसम्म पुग्छ । मधेशबाट उत्पादित करिया कमोद, बासमती, रामविलास, सोना लगायतका चामल निर्यात हुन्छ । खडेरीले तरकारी, उखुलगायतका बालीमा पनि असर परेको छ । आकाशे पानी नपरेर उखु फस्टाउन सकेको छैन । तरकारी उत्पादनमा कमी भएको लालबन्दी तरकारी व्यवस्थापन समितिका अध्यक्ष प्रमोद थपलियाले जानकारी दिए । सर्लाहीमा धान ४० हजार हेक्टर, गहुँ ३० हजार हेक्टर, मकै १६ हजार हेक्टर, तरकारी १३ हजार हेक्टर र उखु २१ हजार हेक्टरमा खेती हुँदै आएको छ ।
