बोरिङ जडान गर्दै किसान

बोरिङ नभएका कतिपयले पानी किनेरसमेत रोपाइँ गरिरहेका छन् । रोपेको धान पनि खडेरीले सुक्न थालेको छ ।

श्रावण १५, २०८२

शिव पुरी

A farmer installing a boring

What you should know

रौतहट — रौतहट फतुवाविजयपुर–१ शीतलपुरका ६८ वर्षीय जोगिन्द्र साहले लामो समय खडेरीको मार खेपेपछि यसपालि पम्पसेट (बोरिङ) जडान गरेका छन् । त्यसैको भरमा दुई बिघा खेत रोपेको र छिमेकीलाई पनि रोपाइँका लागि पानी दिएको उनले सुनाए ।

‘पहिले त असारको पहिलो साता रोपाइँ सकिन्थ्यो । यस पटक त फिटिक्कै पानी परेन,’ उनले भने, ‘५० हजार खर्च गरेर बोरिङ जडान गरें ।’ साहको खेतमा रोपो हरियो हुँदै छ । 

बोरिङ नभएका कतिपयले पानी किनेरसमेत रोपाइँ गरिरहेका छन् । रोपेको धान पनि खडेरीले सुक्न थालेको छ । बोरिङ र बागमती सिँचाइ आयोजनाबाट अहिलेसम्म रौतहटमा ६० प्रतिशतभन्दा बढी खेतमा रोपाइँ भएको कृषि ज्ञान केन्द्र प्रमुख सुरेन्द्रप्रसाद कुर्मीले जानकारी दिए । ‘अहिले बोरिङको मद्दतले केही रोपाइँ भइरहेको छ । तर आकाशको पानी नै चाहिन्छ । नत्र फसल निकै कम हुन्छ,’ उनले भने । 

कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाका १८ पालिकामध्ये फतुवाविजयपुर, ईशनाथ, परोहा, बौधीमाई, राजपुर, मौलापुर नगरपालिकाका किसान आकाशे पानीको भरमा खेती गर्दै आएका छन् । अन्य नगरपालिकामा बागमती सिँचाइ, लालबकैयाको पानीले रोपाइँ गरिएको छ । मौलापुर, ईशनाथ नगरपालिकाका अधिकांश किसानको खेत बाँझै छ । ‘१० कट्ठा खेत त्यत्तिकै छाडेको छु,’ ईशनाथको बन्जराहाका रामप्रवेश यादवले भने, ‘खेतमा पानी लगाउने कुनै उपाय पनि छैन । अब पानी परे रोपाइँ गरौंला, नभए यत्तिकै छाडिदिन्छु ।’

कृषि ज्ञान केन्द्रले जिल्लाका १० पालिकामा भूमिगत सिँचाइका लागि बोरिङ जडान गर्न सूचना आह्वान गरेको छ । पानी पर्खिरहेका किसान बीउ सुक्न थाल्दा चिन्तित छन् । कृषि ज्ञान केन्द्रका अनुसार रौतहटमा ३८ हजार ५ सय हेक्टर खेतीयोग्य जमिन छ । समयमा रोपाइँ भइदिएको भए प्रतिहेक्टर ४.२ मेट्रिकटन धान उत्पादन हुने प्रमुख कुर्मीले जानकारी दिए । 

शिव पुरी उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully