मधेशबाट कांग्रेस–एमाले सहमति कार्यान्वयन सुरु

नयाँ समीकरणको समर्थनमा मधेशमा जनमत नेतृत्वकै सरकारलाई निरन्तरता, मुख्यमन्त्री सिंहको पक्षमा ६७ र विपक्षमा ३४ मत 

असार २३, २०८१

सन्तोष सिंह

Implementation of Congress-UML agreement has started from Madhesh

धनुषा — केन्द्रमा कांग्रेस र एमालेबीच सत्ता सहकार्यका लागि भएको सहमतिको कार्यान्वयन मधेश प्रदेशबाट सुरु भएको छ । नयाँ समीकरणले समर्थन गरेपछि जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सतीशकुमार सिंहले शनिबार विश्वासको मत पाएका हुन् ।

यही असार १७ मा कांग्रेस र एमालेबीच सत्ता सहकार्यका लागि नयाँ गठबन्धन बनाउने सहमति भएको थियो । सहमतिअनुसार एमालेले कोसी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्ने र कांग्रेसले बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्ने जनाइएको थियो । मधेश प्रदेश सरकारको नेतृत्व मधेशवादी दललाई दिने सहमति भएको थियो । 

सहमतिअनुसार कांग्रेस–एमालेको नयाँ गठबन्धनसँग मन्त्रालय भागबन्डा भएपछि मधेशमा जनमत नेतृत्वकै सरकारले निरन्तरता पाएको हो । कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीलाई प्रदेश सरकारमा ल्याउने सहमति भएको छ । माओवादी, एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई बर्खास्त गरेर मुख्यमन्त्री सिंह नयाँ गठबन्धनमा सहभागी भएका हुन् । मुख्यमन्त्री सिंहलाई एमाले, कांग्रेस, लोसपा, नागरिक उन्मुक्तिले विश्वासको मत दिएका छन् । जसपा नेपाल, माओवादी, एकीकृत समाजवादी, नेपाल संघीय समाजवादीले विपक्षमा मतदान गरेका छन् । 

प्रदेशसभामा शनिबार उपस्थित १ सय १ सांसदमध्ये मुख्यमन्त्री सिंहको पक्षमा ६७ र विपक्षमा ३४ मत परेको थियो । मधेशमा १ सय ७ जना सांसद भए पनि कर्तव्यज्यान मुद्दामा जन्मकैद सजाय पाएका लोसपाका अभिराम शर्मा निलम्बित हुँदा १ सय ६ सांसद कायम छन् । केन्द्रमा एमाले–माओवादी गठबन्धन छँदा गत जेठ २५ मा शपथ लिएका मुख्यमन्त्री सिंहले शनिबार विश्वासको मत लिएका हुन् । 

मधेशमा जनमतलाई मुख्यमन्त्रीसहित ३ मन्त्रालय, एमालेलाई भौतिक पूर्वाधारसहित ४, कांग्रेसलाई अर्थसहित ४ र लोसपालाई १ मन्त्रालय दिने सहमति भएको छ । कांग्रेस र लोसपाका मन्त्रीलाई शनिबार राति नै शपथ गराउने तयारी भए पनि मन्त्रीको टुंगो नलाग्दा शपथ हुन सकेन । 

कांग्रेसबाट धनुषाका शेषनारायण यादव, रौतहटका सुनीलकुमार यादव, सर्लाहीका जंगीलाल यादव र पर्साका श्याम पटेललाई मन्त्रीमा सिफारिस गर्ने तयारी गरे पनि सहमति हुन सकेको छैन । लोसपाले २ मन्त्रालयको अडान राखेको छ । मुख्यमन्त्री सिंहले आइतबार कांग्रेस र लोसपाका मन्त्री नियुक्ति गर्ने तयारी गरेका छन् ।

कांग्रेस-एमाले गठबन्धन

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully