मुसहर बस्तीमा स्वास्थ्यकर्मीको टोली

जेष्ठ १७, २०७८

भरत जर्घा मगर

सिरहा — दुई सातादेखि ज्वरोको प्रकोप फैलिएको सिरहाको लहान नगरपालिका–१५ लग्राहास्थित दलित मुसहर बस्तीमा स्वास्थ्यकर्मीको टोली पुगेको छ । लहान नगरपालिकास्थित स्वास्थ्य शाखाले डा. वीरेन्द्र यादवसहितको टोली परिचालन गरेको हो ।

नगरपालिका स्वास्थ्य शाखाका भेक्टर कन्ट्रोल निरीक्षक चन्देश्वर यादवले गर्मी र चिसोको कारण बस्तीका अधिकांशमा ज्वरो प्रकोप देखिएको र औषधि वितरण गरिएको जानकारी दिए । ‘कोरोनासँग पनि लक्षण मिल्दोजुल्दो भएकाले पीसीआर परीक्षणका लागि नामावली संकलन भइरहेको छ,’ उनले भने, ‘पीसीआर र एन्टिजेन परीक्षणका लागि किटहरू तयार छन् ।’

बस्तीमा दुई सातादेखि फैलिएको ज्वरोको प्रकोपबाट काखे बच्चादेखि वृद्धवृद्धासम्म थलिएका छन् । ज्वरोबाट एकै घरका ६ जनासम्म बिरामी छन् । लग्राहामा ३७ घरधुरी दलित मुसहर समुदायको बसोबास छ । ऐलानी जग्गामा बस्दै आएका उनीहरू दैनिक ज्याला मजदुरीबाट गुजारा चलाउँछन् दुई सातादेखि ज्वरोले थलिए पनि कोरोनाको त्रासले उनीहरूले उपचार गराउन सकेका थिएनन् ।

सुरुमा हातगोडा कटकट खाने, जीउ, टाउको, पेट दुख्ने, झाडापखाला लागेपछि ज्वरो आउने गरेको छ । स्थानीय रामे सदायका अनुसार बस्तीका घरपिच्छै बिरामी परेका छन् । ‘कतिपयलाई ज्वरो निको हुँदै केही दिनपछि फेरि दोहोरिएर आएको छ,’ उनले भने ‘ज्वरो दोहोरिँदा गाउँका बालबच्चादेखि वृद्धवृद्धा थलिएका छन् ।’ ज्वरो प्रकोप स्थलमा खटिएका सिअहेब रामसुन्दर चौधरीले अधिकांशमा गर्मी र चिसोका कारण ज्वरो देखिएको र केहीमा कोरोनाको लक्षणसमेत देखिएकाले पीसीआर परीक्षणको तयारी गरिएको बताए ।

कोरोना भाइरस

भरत

Link copied successfully