आरोप प्रत्यारोपमा सीडीओ र जनप्रतिनिधि

प्रशासनले निषेधाज्ञा लगाउनेबाहेक अरु कुनै पनि सहकार्य नगरेको आरोप

जेष्ठ ९, २०७८

ओमप्रकाश ठाकुर

सर्लाही — कोरोना संक्रमणको दोस्रो लहरमा सर्लाहीका प्रमुख जिल्ला अधिकारीको समन्वयकारी भूमिका नभएको पालिका प्रमुखहरूले गुनासो गरेका छन् । जिल्लामा झन्डै तीन महिनाअघि सरुवा भएर आएका प्रजिअ हेमबहादुर तामाङले कोरोना महामारीमा निषेधाज्ञा लगाउनेबाहेक अरू कुनै पनि सहकार्य नगरेको जनप्रतिनिधिहरूले आरोप लगाएका हुन् ।

हाल जिल्लामा संक्रमण समुदायस्तरमा फैलिएको छ भने कोरोनाबाट ज्यान गुमाउनको संख्या पनि बढ्दो छ । यस्तो परिस्थितिमा प्रजिअलाई अक्सिजनको अभाव टार्न पटक–पटक आग्रह गरिए पनि समस्याको समाधान हुन नसकेको बरहथवा नगरपालिकाका मेयर देवानन्द महतोले बताए । उनले अक्सिजन सिलिन्डरका लागि पालिकाबाट लिखित निवेदन प्रजिअलाई बुझाएको दुई दिनपछि निवेदनको ढाँचा नमिलेको भन्दै फिर्ता पठाइदिएको जानकारी दिए । मेयर महतोले पुनः निवेदन दिएको एक सातापछि अक्सिजनको जोहो भयो कि भएन भनेर प्रजिअले सोध्नु लज्जास्पद भएको बताए । ‘कोरोनाको महामारी ब्रेक गर्न प्रजिअको जुन भूमिका हुनुपर्ने हो त्यो हुन सकेको छैन,’ उनले भने ।

यता हरिवन नगरपालिका महामारीलाई रोक्न आफैं व्यवस्थापनमा जुटेको छ । हरिवनले कोरोना समुदायमा फैलिनबाट रोक्न पहिला नै पालिका सिल गर्ने निर्णय गरेको थियो । जसमा प्रजिअको असन्तुष्टि थियो । प्रजिअको असन्तुष्टि बढेपछि पालिकाले आनै तरिकाले अगाडि बढ्ने निर्णय गरेको थियो । हरिवन नगरपालिकाले १ सय शय्याको अक्सिजनसहितको आइसोलेसन निर्माण गरिसकेको छ । पालिकाले स्वाब संकलन र कन्ट्र्याक्ट ट्रेसिङलाई पनि प्राथमिकता दिइरहेको छ ।

 हरिवनका मेयर गणेश प्रसार्इंले प्रजिअले नगर सिल र कोरोनाबाट जुध्न सहयोग गर्नुपर्ने बेलामा असन्तुष्टि जनाउनु गैरजिम्मेबार रहेको आरोप लागए । उनले कोरोनाको महामारीमा सबै एकजुट भएर जानुपर्ने अहिलेको आवश्यकता रहेको जनाउँदै प्रजिअसँग खासै समन्यवय हुन नसकेको जानकारी दिए । ‘हामी आनै तरिकाले अगाडि बढिरहेका छौं, मुख्य उद्देश्य कोरोनालाई ब्रेक गर्नु नै हो, यसमा प्रजिअको सहयोग पाएको भए अझै राम्रो हुन्थ्यो,’ उनले भने, ‘तर त्यसो हुन सकिरहेको छैन ।’

जिल्लामा जारी निषेधाज्ञाको अनुगमनसमेत हुन नसकेको बेला प्रजिअलाई सम्पर्क गर्न खोज्दा फोन नै नउठ्ने समस्या रहेको अत्रौलीका स्थानीय सञ्जीव मोक्तानले बताए । सञ्चारकर्मीले जानकारी माग्न खोज्दा प्रजिअले फोन नउठाएको गुनासो गरेका छन् । प्रमुख जिल्ला अधिकारी तामाङले आफू अक्सिजन सिलिन्डरको व्यवस्थापनमा रहेको जनाए । उनले दिनभरिको व्यस्तताका कारण नागरिकको फोन रिसिभ गर्न नसकिएको जानकारी दिए । ‘यो महामारीमा चाप अलि बढी छ, त्यसमा पनि अक्सिजनको चाप रहेको बेला यसको व्यवस्थापन गर्न चुनौती नै छ,’ उनले भने, ‘यो सबै व्यवस्थापन भएपछि तनाव पनि केही कम होला ।’

कोरोना भाइरस

ओमप्रकाश

Link copied successfully