इलाम — निषेधाज्ञा जारी गरी अनावश्यक हिँडडुल गर्नेलाई नियन्त्रण प्रयास गरिए पनि जिल्लामा कोरोना संक्रमणको अवस्था भने बढिरहेको छ । महामारीकै कारण मृत्यु दर पनि बढ्दै गएपछि जिल्लामा त्रास थपिएको छ ।
तैपनि अस्पतालमा आवश्यक उपकरण र जनशक्ति जुटाउन पहल नहुनु र रोगबारे जनस्तरमा सचेतना कम हुनुले झन् ठूलो क्षति बेहोर्नु परिरहेको भन्दै विभिन्न क्षेत्रबाट आलोचना हुन थालेको छ । सदरमुकाममा ७ सहित जिल्लामा १३ जनाको ज्यान गइसकेको छ । पछिल्लो लहरमा मात्र ३ सय ५१ जना सक्रिय संक्रमित भएका छन् । तर परीक्षणको दायरा फराकिलो बनाउने हो भने यो संख्या अझ धेरै हुने अनुमान गरिएको छ ।
५० शय्याको इलाम अस्पतालमा प्रदेश सरकारले दिएको भेन्टिलेटर भए पनि प्रयोगमा छैन । त्यस्तै आईसीयू पनि ३ महिनादेखि सञ्चालनमा छैन । जसकाका कारण बिरामीलाई केही गाह्रो हुनासाथ झापा र विराटनगरको अस्पतालमा रेफर गर्नुको विकल्प छैन ।
अस्पताल भने पटक/पटक मन्त्रालयमा जानकारी गराए पनि कुनै कारबाही अघि नबढेको जनाउँछ । अहिले सदरमुकामको कोभिड अस्पतालमा २० जना संक्रमित छन् । अस्पतालले केही जनशक्ति थप गर्न सके ५० जनासम्मलाई उपचार गर्न सकिने जनाएको छ । तर आईसीयू र भेन्टिलेटर नै सञ्चालनमा नभएको अवस्थामा गम्भीर बिरामीले उपचारका लागि बाहिर नै जानुपर्ने बाध्यता छ । इलाम अस्पतालमा ५० सिलिन्डर अक्सिजन छ भने जिल्लाभर १ सय ३७ सिलिन्डर छन् । तर निरन्तर संक्रमितकको संख्या बढ्दै गएकाले यो अपुग हुने देखिएको छ ।
स्थानीय तहहरूले पनि कोभिड–१९ को विरुद्ध लड्न पर्याप्त तयारी नगरेको भन्दै आलोचना खेप्दै आएका छन् । महामारीले भयाभव रूप लिँदा पनि केही गर्न नसकेको जिल्लावासीको आरोप छ ।
जनशक्ति अभावकै कारण प्राप्त उपकरणसमेत प्रयोगविहीन भएका हुन् । विषेशज्ञसहित १४ चिकित्सकको दरबन्दी रहे पनि अहिले स्त्रीरोग विशेषज्ञ एक जना मात्र स्थायी डाक्टर छन् । ५९ दरबन्दी रहेको अस्पतालमा २७ दरबन्दी पदपूर्ति भएको छ । अस्पतालमा २ मेडिकल अधिकृत, ३ कन्सलट्यान्ट र ३ डेन्टल सर्जन कार्यरत छन् ।
‘राजनीतिक व्यक्तित्वले नै जिल्लामा भरपर्दो स्वास्थ्य व्यवस्था खडा गर्न पहल नगरेका हुन्,’ सञ्चारकर्मी सोमनाथ सुसेलीले भने । गैरसरकारी महासंघका अध्यक्ष कमल नेपालले पनि यो अवस्थामा उपलब्ध पूर्वाधार र उपकरण प्रयोग गर्न नसक्नु कमजोरी भएको गुनासो गरे ।
