अक्सिजनको माग धान्नै हम्मे

आपूर्तिमा कटौती तर संक्रमितको संख्यामा वृद्धि हुँदा अपुग

जेष्ठ ९, २०७८

रमेशकुमार पौडेल

चितवन — भरतपुरमा अन्यत्रको जस्तै अक्सिजन अभाव हुने चिन्ता सुरु भएको छ । अक्सिजन आवश्यक पर्ने कोरोना संक्रमितको संख्या बढेको बढ्यै हुँदा उपलब्ध अक्सिजनले धान्न हम्मे परेको अस्पतालका अधिकारीहरू बताउँछन् ।

भरतपुरका अस्पतालहरूमा उपचार गराउने संक्रमितमा जिल्ला बाहिरका धेरै छन् । तर, जिल्ला बाहिरबाट अक्सिजन आपूर्ति कटौती भएसँगै चितवनमा अपुग हुने अवस्था आएको छ । ‘अस्पतालहरूमा दिनहुँ १२ सय सिलिन्डरसम्म अक्सिजन आवश्यक पर्ने देखिन्छ । यहाँका अस्पतालहरूमा प्लान्ट पनि छन् । जिल्लामा एउटा उद्योग पनि छ । तर बाहिरबाट नल्याए पुर्‍याउन गाह्रो हुँदो रहेछ,’ चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले भने । उनका अनुसार चितवनमा मागभन्दा अझै पनि तीन सय सिलिन्डर कम हुने गरेको छ ।

भरतपुरको सरकारी अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीका अनुसार पहिला अस्पताल आउनेमध्ये २० प्रतिशत जतिलाई मात्र अक्सिजन आवश्यक पर्थ्यो । अहिले लगभग सबैलाई अक्सिजन चाहिएको उनले बताए । ‘अक्सिजनको माग सात गुणासम्म बढेको छ । बाहिरबाट आपूर्ति रोकिन थालेपछि अवस्था जटिल हुने खतरा बढ्दो छ,’ अध्यक्ष डा.अधिकारीले भने । भरतपुर अस्पतालका अक्सिजन प्लान्ट इन्चार्ज चन्द्रमणि बस्यालका अनुसार प्लान्टले सिधै पाइपमा अक्सिजन पठाउनुका साथै सिलिन्डरमा पनि भर्ने गर्छ । अहिले पूर्ण क्षमतामा चलाउँदा प्लान्टबाट दैनिक ७५ सिलिन्डर भर्ने गरिएको छ । तर नपुगेर ७० सिलिन्डर बाहिरबाट पनि मगाउनुपरेको थियो । बाहिरबाट भनेजति नआए गाह्रो हुने उनले बताए ।

बिरामीको चाप बढ्दै गए दैनिक दुई सय सिलिन्डर अक्सिजन आवश्यक पर्ने उनको भनाइ छ । कोरोना संक्रमितको उपचार भइरहेको भरतपुरको अर्को अस्पताल चितवन मेडिकल कलेजका सञ्चालक डा.हरिशचन्द्र न्यौपाने आफ्नो अस्पतालले प्रतिमिनेट पाँच सय लिटर अक्सिजन उत्पादन गर्ने प्लान्ट राखेको बताउँछन् । तैपनि अपुग भएका कारण दैनिक चार सय सिलिन्डर अक्सिजन बाहिरबाट ल्याउनुपरेको उनले बताए ।

‘हामीले अक्सिजन सिलिन्डर र अक्सिजन अपुग हुन सक्ने मौखिक जानकारी गराइसकेका छौं । त्यहीअनुरूप सरकारी निकायले अक्सिजन आपूर्तिको व्यवस्था मिलाउनेमा आशावादी छौं । कम आपूर्ति हुन गए अक्सिजन आवश्यक पर्ने बिरामीलाई भर्ना गर्न असमर्थ हुनेछौं,’ डा. न्यौपानेले भने । सो अस्पतालमा शनिबार मात्रै आईसीयूमा १४६, भेन्टिलेटरमा ३२ र एचडीयूमा १८ जना संक्रमित थिए । ‘संक्रमितलाई मात्रै नभएर अक्सिजन आवश्यक पर्ने अन्य दीर्घरोगीहरू पनि हुन्छन् । जटिल अवस्थामा पुगेका बिरामीहरू पनि छन् । सबैका लागि अक्सिजनको जोहो गर्ने तयारीमा छौं,’ प्रमुख जिल्ला अधिकारी लामिछानेले भने । चितवनमा भरतपुर–१ रामनगरमा स्वर्गद्वारी अक्सिजन उद्योग छ । कुनै बेला सातामा मुस्किलले दुई, तीन दिन मात्र चल्ने यो उद्योग वैशाख १७ पछि २४ सै घण्टा सञ्चालनमा छ ।

‘उत्पादन क्षमता २४ घण्टामा चार सय सिलिन्डर हो । दिनरात उद्योग चलाउँदा पनि माग नधान्ने अवस्था छ,’ उद्योगका सञ्चालक निरञ्जन न्यौपानेले भने । जिल्ला बाहिरका उद्योगहरूलाई आपूर्ति नरोक्न अनुरोध गरेको प्रजिअ लामिछानेले बताए । ‘तर कहिले ठीकठीकै आउँछ । कहिले निकै कम आउँछ,’ उनले भने । स्वास्थ्य कार्यालयका अनुसार शनिबार भरतपुरका अस्पतालहरूमा २५८ जना आईसीयूमा, भेन्टिलेटरमा ५० र एचडीयूमा ९४ जनासहित कुल ४८६ जना संक्रमितको उपचार भइरहेको थियो । जसमा चितवनका २१४ जना मात्रै थिए ।

कोरोना भाइरस

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully