पाल्पामा कोरोनाबाट थप ६ जनाको मृत्यु

जेष्ठ ८, २०७८

माधव अर्याल

पाल्पा — पाल्पामा कोरोनाबाट शनिबार ६ जनाको भएको छ । दुई जनाको मिसन अस्पताल, दुई जनाको लुम्बिनी मेडिकल कलेज साथै तानसेन नगरपालिकाले सञ्चालन गरेको आइसोलेसन र प्रादेशिक अस्पताल बुटवलमा एक/एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । मृत्यु हुनेहरु पाल्पाका पाँच र रुपन्देही बुटवलका एक जना रहेका छन् ।

बगनासकाली गाउँपालिका–६ यम्घाका ५४ वर्षीय पुरुषको लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । उनको जेठ ५ गते एन्टिजेन पोजेटिभ आएको थियो । श्वासप्रश्वासमा समस्या बढेपछि उनलाई मिसन अस्पताल र थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज लगिएको थियो । तानसेन नगरपालिका–५ का ६१  वर्षीय पुरुषको उपचारका क्रममा मिसन अस्पतालमा मृत्यु भएको छ । उनको वैशाख ३१ गते एन्टिजेन पोजेटिभ आएर उपचार गराइरहेका थिए । 

तानसेन नगरपालिका–६ का ६१ वर्षीय पुरुषको मिसन अस्पतालमा मृत्यु भएको छ । जेठ ६ गते पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका उनको उपचारका क्रमम मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । तानसेन नगरपालिका–७ काजीपौवाका ६६ वर्षीय पुरुषको तानसेन नगरपालिकाले सञ्चालन गरेको आइसोलेसनमा मृत्यु भएको छ । तानसेन नगरपालिका स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपानेका अनुसार हाई फ्लोमा अक्सिजन दिँदासमेत सुधार आउन सकेको थिएन । उपचारका क्रममा उनको निधन भएको न्यौपानेले बताए । 

रैनादेवी छहरा गाउँपालिका–४ अमलावासकी ७२ वर्षीया महिलाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख जीवन रानाले बताए । उनका अनुसार थप उपचारका लागि लगेपनि अस्पतालको गेटमै पुर्‍याउँदा मृत्यु भएको थियो । जेठ ७ गते उनलाई छहरा स्वास्थ्य चौकीमा पोजेटिभ देखिएको थियो । बुटवल उपमहानगरपालिका–७ का ४३ वर्षीय पुरुषको लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको छ । वैशाख २६ गते पीसीआर पोजेटिभ देखिएको र पुन: जेठ ६ गते एन्टिजेन गर्दा पोजेटिभ रिपोर्ट आएको थियो ।  

कोरोना खोपकोरोना भाइरस

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully