सरकारी अस्पतालले बिरामी फर्काउँदै, निजीमा शय्या खाली
मोरङ — सरकारले तोकेको शुल्कमा निजी अस्पतालले कोरोना संक्रमितको उपचार गर्न नमान्दा अहिले सरकारी अस्पताललाई बिरामी धान्न धौधौ परिरहेको छ ।
तर महँगो उपचार शुल्कका कारण निजी अस्पतालका शय्या भने खाली छन् । प्रदेशसभाको सामाजिक विकास समितिले प्रदेशभरिका कोभिड अस्पतालहरूको अनुगमन गरेका थिए । अनुगमनका क्रममा बिरामीसँग बढी शुल्क र धरौटी लिने गरेकाले निजी अस्पतालभन्दा संक्रमित बिरामीहरू सरकारी अस्पतालमा भर्ना हुने क्रम बढेको पाइएको हो ।
समिति सदस्य तथा कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले विराट मेडिकल शिक्षण अस्पताल र बीएन्डसी अस्पतालले धरौटी जम्मा गर्न लगाएपछि मात्रै बिरामी भर्ना लिने गरेको पाइएको बताए । ‘विराट र बीएन्डसी अस्पतालले संक्रमित बिरामीसँग सरकारले तोकेको भन्दा अत्यधिक शुल्क असुल्ने गरेको पाइयो,’ उनले भने, ‘बिरामीले अस्पतालको शुल्क सुन्दा त्यसै मर्ने अवस्था छ ।’
उनले नोवेल अस्पतालमा पीपीई, औषधि र खाना संक्रमितलाई नै किन्न लगाउने गरेको बताए । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सबैभन्दा लापरबाही गरिरहेको समितिको ठहर छ । कार्कीले प्रदेश र संघीय सरकारको करोडौं बजेट लिएर प्रतिष्ठानले अनुगमन गर्दासम्ममा ३० शय्याको मात्रै कोभिड अस्पताल सञ्चालन गरेको पाइएको बताए ।
विराटनगरस्थित न्युरो अस्पततालले सरकारसँग सम्झौता नै नगरी ३० शय्याको कोभिड अस्पताल सञ्चालन गरेको छ । अस्पतालले सरकारले तोकेको शुल्कमा संक्रमित बिरामीको उपचार गर्न नसकिने भन्दै सम्झौताबिना नै कोभिड अस्पताल सञ्चालन गर्दै आएकाले तत्काल नियमन गर्न समितिले प्रदेश सरकारलाई निर्देशन दिएको छ ।
समितिले प्रदेशभरिका अस्पततालहरूमा बिरामीको उपचारमा एकरूपता ल्याउन निर्देशन दिएको छ । समिति सभापति सरिता थापाले प्रदेशभरिका निजी अस्पतालहरूमा संक्रमित बिरामीसँग सरकारले तोकेको भन्दा बढी शुल्क असुली भइरहेकोले तत्काल नियमन गर्न निर्देशन दिएको बताइन् ।
सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले यस प्रदेशस्थित ५ वटा अक्सिजन उद्योगमा २२ सय ठूलो र ४ सय सानो अक्सिजन सिलिन्डर रहेको र चीन सरकारले उपलब्ध गराएकामध्ये थप दुई सय सिलिन्डर आएकाले अभाव नहुने बताए । उनले प्रदेशभरि संक्रमितको संख्या बढ्दै गएकाले यहाँका उद्योगले उत्पादन गर्दै आएको अक्सिजन यो प्रदेशलाई नै नपुग्ने अवस्था रहेकाले बाहिरका जिल्लामा आपूर्ति गर्न नसकिने प्रस्ट पारे ।
‘सम्झौता नगरी कोभिड अस्पताल वा वार्ड सञ्चालन गरेका अस्पतालहरूलाई अक्सिजन आपूर्तिमा कडाइ गरेका छौं,’ कार्कीले भने, ‘सरकारले तोकेका कोभिड अस्पतालहरूलाई पहिलो प्राथमिकतामा राखेर अहिले अक्सिजन आपूर्तिको व्यवस्था गरेका छौं ।’ उनले अस्पतालको नियमनका लागि सामाजिक विकास मन्त्री उषाकला राईलगायतका अन्य टिमहरूले नियमित अनुगमन गरिरहेकाले चाँडै प्रदेशभरिका समस्या समाधान हुने बताए ।
विराटनगरस्थित कोसी अस्पतालले सरकारी निर्देशनअनुसार कुल शय्याको ५० प्रतिशत शय्यालाई कोभिड वार्डमा परिणत गरेको छ । कोसी अस्पतालका मेडिकल सुपरिन्डेन्टेन्ट डा. चुमनलाल दासले मेडिकल वार्डमा तीन दिनअघिबाट ६४ शय्याको कोभिड वार्ड सुरु गरेको बताए । कोभिड वार्डमा ५ आईसीयू, २५ एचडीयू र बाँकी शय्या अक्सिजनसहितका छन् ।
‘कोभिड वार्डमा क्रमिक रूपमा बिरामी भर्ना गर्दै जाँदा शनिबारसम्ममा आईसीयू र एचडीयू शय्यामा ३० जना बिरामी भरिएको र १० जना आइसोलेसनमा छन्,’ उनले भने, ‘संक्रमित बिरामी भर्ना हुने चाप थामिनसक्नु छ तर एकैपटक सबै शय्यामा बिरामी भर्ना गर्दा सञ्चालनमा समस्या हुने भएकाले क्रमिक रूपमा भर्ना गर्दै छौं ।’ बिरामीको चापअनुसार अबको दुई दिनमा सबै शय्या भरिने दासले सुनाए ।
संक्रमित बिरामी आतिएर र समन्वय नगरी आइदिँदा शय्या व्यवस्थापनमा समस्या भएकाले समन्वय गरी मात्रै आइदिन उनले आग्रह गरे ।यस्तै, प्रदेश सरकार मातहत सञ्चालित ९६ शय्याको कोसी कोभिड–१९ उपचार केन्द्रमा पनि शनिबार ८७ जना संक्रमित बिरामी भर्ना भएर उपचार गराइरहेका छन् ।
उपचार केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीले आईसीयू–भेन्टिलेरसहितको २१, एचडीयू ४७, अक्सिजनसहितको १५ र १३ वटा सामान्य शय्यामध्ये ९ वटा मात्रै शय्या खाली रहेको बताए । अहिले दैनिक १० देखि १५ जना संक्रमित बिरामी भर्नाका लागि लाइनमा हुने गरेको उनले बताए ।
झापाको मेची अस्पतालमा हाल १ सय २५ शय्याको कोभिड अस्पताल सञ्चालनमा रहेको छ । जसमा ७५ वटा अक्सिजनसहितको शय्यामा ८६ बिरामी भर्ना रहेको अस्पतालका मेडिकल सुपरिन्डेन्टेन्ट डा. पीताम्वर ठाकुरले बताए । पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, झापाका बिरामीको चाप अत्यधिक रहेको उनले सुनाए ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तेस्रो तहको आईसीयू १५, एचडीयू २५, भेन्टिलेटर १० र अक्सिजनसहितको ५० गरी १ सय शय्याको अस्पतालमा शनिबार ४४ जना बिरामी छन् । प्रतिष्ठानका रजिस्टार डा. मोहनचन्द्र रेग्मीले तेस्रो तहको विशिष्टीकृत सेवा दिने अस्पताल रहेकाले जटिल बिरामीहरू भर्ना लिएर उपचार गर्दै आएको बताए । उनले थप एक सय ८० शय्या कोभिड अस्पताल बिस्तारको काम भइरहेको र एक साताभित्रै सञ्चालनमा ल्याउने बताए ।
यस्तै, नोवेल अस्पतालमा रहेको ३९ आईसीयूसहित एक सय ६१ शय्या सबै बिरामीले भरिएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालले पछिल्लो समय दैनिक २० जनाभन्दा बढी संक्रमित फर्काउनुपर्ने बाध्यता रहेको बताए । मोरङको बूढीगंगास्थित विराट मेडिकल शिक्षण अस्पतालको कोभिड अस्पतालस्थित २५० मध्ये आईसीयू ६०, पीआईसीयू ६, एनआईसीयू ३, अक्सिजनसहितको १ सय २७ र सामान्य शय्या ७४ वटा रहेको छ । जसमा एक सय ४७ जना संक्रमित बिरामी उपचाररत रहेको कोभिड अस्पतालका इन्चार्ज डा. सुनिल देवले बताए ।
उनले अस्पतालमा भर्ना भएका बिरामीसँग कुरुवा बस्न नमिल्ने हुँदा उनीहरूलाई आवश्यक खाना, औषधि, जाँचका लागि धरौटी लिने गरेको बताए । ‘संक्रमित बिरामीमा मधुमेह, उच्च रक्तचाप, मुटुरोगलगायत रोगहरू लिएर आउने गरेकाले जाँच गर्नुपर्ने बेलामा चिकित्सकले कुरुवा खोज्न जाने अवस्था आउन नदिन धरौटी लिन्छौं,’ उनले भने ।
