पर्सामा दुई कोरोना संक्रमितको मृत्यु

वैशाख १९, २०७८

शंकर आचार्य

पर्सा — पर्सामा आइतबार कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । नारायणी अस्पतालमा उपचाररत दुई पुरुषको मृत्यु भएको हो ।

अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासका अनुसार वीरगन्ज १६ का ६८ वर्षीय पुरुषको बिहान एक बजे उपचारको क्रममा मृत्यु भएको हो । छिपहरमाई गाउँपालिका–३ का ४५ वर्षीय पुरुषको बिहान ९ बजेर ५५ मिनेटमा मृत्यु भएको हो । 

आइतबार नारायणी अस्पतालमा ५३ कोरोना संक्रमित उपचारार्थ भर्ना रहेको डा दासले जानकारी दिए । तीमध्ये ८ जना भेन्टिलेटरमा उपचाररत छन् । अन्यलाई अक्सिजन दिएर राखिएको छ । 

आइतबारका समेत गरी नारायणी अस्पतालमा मात्र २७ कोरोना संक्रमितको मृत्यु भइसकेको डा दासले जानकारी दिए । यसबाहेक बयोधा अस्पतालमा ५, नेसनल मेडिकल कलेज अस्पतालमा २, गण्डक अस्पतालमा १ र जिल्ला बाहिर उपचारका क्रममा एक जनाको मृत्यु भएको छ । 

जिल्लामा पुन: १४५ जना कोरोना संक्रमित थपिएका छन् । नारायणी अस्पतालको प्रयोगशालामा शनिबार १ सय ९२ जनाको स्वाब परीक्षण गर्दा १ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

जिल्लामा शनिबार सम्ममा गरी १ हजार ६ सय ३६ जना कोरोना संक्रमित भइसकेका छन् । 

आइतबार नेपाल भारत सीमामा थप ३ कोरोना संक्रमित भेटिएका छन् । भारतबाट नेपाल प्रवेश गरेका ४० जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा कोरोना पुष्टि भएको हो । उनीहरुमध्ये २ भारतीय नागरिक र १ बारा कलैया नगरपालिका घर भएका पुरुष हुन् ।  

कोरोना भाइरस

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully