पोखरामा थप ८ जना कोरोना संक्रमितको मृत्यु

वैशाख १९, २०७८

दीपक परियार

पोखरा — पोखरामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीका ५, पर्वत, दाङ र रुपन्देहीका १–१ जनाको पोखरामा उपचारका क्रममा मृत्यु भएको हो ।

दाङको राप्ती गाउँपालिका–५ का ४३ वर्षीय कोरोना संक्रमित पुरुषको शनिबार बिहान १:२२ मा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो । उनलाई वैशाख १५ मा कोरोना पुष्टि भएको थियो । पोखरा–२६ की ५८ वर्षीया कोरोना संक्रमित महिलाको शनिबार बिहान मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

पर्वतको कुश्मा नगरपालिका–५ की ७६ वर्षीया कोरोना संक्रमित महिलाले शनिबार बिहान गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गुमाइन् । उनलाई शुक्रबार मात्रै कोरोना पुष्टि भएको थियो । पोखरा–१६ कै ७३ वर्षीया कोरोना संक्रमित महिलाको शनिबार दिउँसो मृत्यु भयो । वैशाख १२ मा कोरोना पुष्टि भएकोमा मेडिप्लस अस्पतालमा उपचारका क्रममा निधन भएको हो । 

पोखरा–१० कि कोरोना संक्रमित महिलाको शनिबार बेलुका मणिपाल शिक्षण अस्पतालमा मृत्यु भयो । पोखरा–१९ का ५४ वर्षीय संक्रमित पुरुषले शनिबार बेलुका गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भयो । रुपन्देहीको बुटवल नगरपालिका–३ का ७५ वर्षीय कोरोना संक्रमित पुरुषले आइतबार बिहान मेडिप्लस अस्पतालमा उपचारका क्रममा ज्यान गुमाए । उनलाई वैशाख ९ मा कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै,  होम आइसोलेसनमा रहेका पोखरा–१६ का ७७ वर्षीय वृद्धको शनिबार दिउँसो मृत्यु भएको हो ।

आइतबार मात्रै पोखरामा १ सय ९१ कोराना संक्रमित थपिएका छन् । कास्कीमा १ हजार २ सय २ सक्रिय संक्रमित छन् । कास्कीमा मात्रै १ सय ३१ ले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । गण्डकी प्रदेशमा यो संख्या २ सय ३१ पुगेको छ । 

कोरोना भाइरस

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully