प्रदेश २ सरकारले विपन्न वर्गका लागि झन्डै अढाई महिनाअघि खाद्यान्न पठाएको थियो
वीरगन्ज — प्रदेश २ सरकारले विपन्न वर्गका लागि पठाएको खाद्यान्न झन्डै अढाई महिनादेखि गोदाममै थन्किएको छ ।
असार पहिलो साता प्रदेश सरकारले प्रतिपरिवार २५ किलो चामल, दुई किलो दाल, एक लिटर तेल, सोयबिन र नुन बाँड्ने गरी वीरगन्ज महानगरपालिका–१९ का दुई सय परिवारका लागि राहत पठाएको थियो ।
उक्त राहत विन्दबासिनी मन्दिर परिसरमा रहेको धर्मशालाको कोठामा राखिएको छ । यसअघि खाद्यान्न राखिएको कोठामा वर्षात्को पानी छिरेपछि अहिले अर्को भवनमा सारिएको छ । करिब एक महिना अगाडि नै अर्को भवनमा खाद्यान्न सारिँदा कम्तीमा पनि १५ बोरामा राखिएको राहत सामग्री सडेको पाइएको थियो । स्थानीयका अनुसार अधिकांश तेलको म्यादसमेत गुज्रिसकेको छ ।
वडाध्यक्ष सन्तोष तिवारीको लापरबाहीका कारण राहत वितरण हुन नसकेको स्थानीयले आरोप लगाएका छन् । राहत वितरण समितिमा नेकपाबाट प्रतिनिधि रहेका नरेशप्रसाद गुप्ताका अनुसार प्रदेश सरकारबाट राहत आएपछि वितरणका लागि वडाध्यक्षसँग छलफल भएको थियो ।
उनका अनुसार वडा १९ मा रहेका दुई टोलमा एक/एक सय परिवारलाई वितरण गर्ने गरी राहत वितरण निर्देशिकाबमोजिम लिस्टसमेत बनेको थियो । ‘राहत वितरणका लागि पटक–पटक पहल गर्यौं,’ गप्ता भन्छन्, ‘तर, वडा अध्यक्षबाट कुनै सुनवाइ भएको छैन ।’ राहत वितरण समितिमा रहेका राजकिशोर कलवार राहत वितरण गर्ने काम वडाध्यक्षको हातमा रहेको बताए । ‘उहाँले किन बाँड्नु भएन, हामीलाई थाहा भएन,’ उनले भने ।
वीरगन्ज महानगरपालिकाका सूचना अधिकारीसमेत रहेका वडाध्यक्ष तिवारी आफ्नो वडामा दुई गाउँ भए पनि राहत भने दुई सय बोरा मात्र आएकाले वितरणमा समस्या भएको बताउँछन् । ‘यसअघि हामीले करिब ९ सय परिवारलाई राहत बाँडिसकेका छौं,’ उनले भने, ‘राहत नपाउने असन्तुष्ट हुन्छन्, झैंझगडा हुन्छ ।’
प्रदेश सरकारले दिएको राहत अबको २/३ दिनमै वितरण गर्ने उनले दाबी गरे । पर्साको सखुवाप्रसौनी गाउँपालिकाबाट फिर्ता भएको राहत रातिको समयमा जबर्जस्ती आफूलाई प्रदेश सरकारका प्रतिनिधिले जिम्मा लगाएको वडाध्यक्ष तिवारीले खुलाए ।
