वीरगन्ज — होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको घरमा वीरगन्ज महानगरपालिकाले स्थानीयवासीलाई सतर्क रहन सूचना टाँसेको छ । ‘कोभिड–१९ पोजिटिभ केसको घर, होम आइसोलेसन सतर्क रहौँ’ लेखिएको सूचना महानगरपालिकाका स्वास्थ्यकर्मीले टाँसेका हुन् । बुधबारसम्ममा ३० वटा घरमा यस्तो सूचना टाँसिएको महानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ ।
वीरगन्ज महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख अरुण महतोका अनुसार कोभिड अस्पतालको भार कम गर्न लक्षण नभएका कोरोना संक्रमितलाई घरमै होम आइसोलेसनमा राखिएको हो । ‘होम आइसोलेसनमा बसेका संक्रमितको घर अगाडि सूचना टाँस्दा स्थानीयवासीको जानकारीमा आउँछ,’ उनले भने, ‘आफ्नो समुदायमा कोरोना संक्रमण आइसक्यो भनेर उनीहरु पनि सतर्क हुन्छन् ।’
कोभिड अस्पतालको क्षमताले धान्न नसकेपछि लक्षण नभएका संक्रमितलाई होम आइसोलेसनमा राखिएको उनले बताए । पछिल्लो समय वीरगन्जमा ‘मिश्रित केस’ देखिएको उनले जानकारी दिए । ‘कसैमा लक्षण छन्, कसैमा लक्षण छैनन्,’ उनले भने, ‘लक्षण नभएकालाई घरमै आइसोलेसनमा राख्दा कोभिड अस्पतालको लोड कम हुन्छ । घरमा पूर्वाधार हुनेहरुलाई घरमै होम आइसोलेसनमा राखिएको हो ।’
होम आइसोलसनमा बस्दा कोरोना संक्रमितले आइसोलेसनसम्बन्धी १४ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने हुन्छ । ‘वडा अध्यक्ष, नजिकका प्रहरी र स्वास्थ्यकर्मीको टिमले १४ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्ने मन्जुरीनामा संक्रमित परिवारसँग गराउँछन्,’ स्वास्थ्य महाशाखा प्रमुख महतोले भने, ‘बिहान र साँझ स्वास्थ्यकर्मी संक्रमितको सम्पर्कमा हुन्छन् ।’
सम्बन्धित समाचार
