क्‍वारेन्टाइनबाट बिदा हुँदा…

बस्नुपर्ने अवधि पूरा भएका र रिपोर्ट नेगेटिभ आएकालाई मेयर मेहताले एकएक थान देहाती गम्छा उपहार दिएर बिदा गरे।

वैशाख ९, २०७७

रौतहट — भारतको विभिन्न सहरमा कारोनाको संक्रमण फैलिएसँगै ईशनाथका ५ मोहम्मद एकलोस डराइसकेका थिए। रोजगारीका लागि भारतमा रहेका उनी चैत १६ गते साँझ गाउँ फर्किए। भोलिपल्टै क्वारेन्टाइनमा गए।

कतै आफूमा पनि कोरोनाको संक्रमण भएको त छैन? आफूसँगै आएका साथीमा पो संक्रमण छ कि? यही चिन्तामा उनी औरैयामास्थित विद्यालयमा स्थापना गरिएको क्वारेन्टाइनमा बसे। 

नभन्दै कोठामा बसेका ५ जनामध्य एकमा संक्रमण पुष्टि भयो। उनको होसहवास उड्यो। साथीलाई रातारात स्थानीय प्रशासनले वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा पुर्‍यायो। उनीलगायत चार जनाको स्वाबको रिपोर्ट आउन बाँकी थियो। जब रिपोर्टमा नेगेटिभ नतिजा आयो, उनको अनुहारमा खुसीको सीमा रहेन। 

आर्थिक अवस्था कमजोर भएका कारण भारत काम गर्न गएका उनी चार महिना बस्न नपाउँदै फर्किनुपर्‍यो। क्वारेन्टाइन बस्नुपर्ने अवधि पूरा भएको र रिपोर्ट नेगेटिभ आएकाले  उनीलगायत २६ जनालाई नगरपालिकाका मेयर सन्तोष मेहताले दाल, चालम लगायतका खाद्यान्न दिएर बिदाइ गरे। मेयर मेहताले बिदाइमा एकएक थान देहाती गम्छा पनि उपहार दिए। 

क्वारेन्टाइनबाट बिदा भएर निस्कँदै गर्दा एकलोसले भने, ‘साँच्चिकै कारोना लागेको जस्तै मनमा डर थियो, तर परीक्षण गर्दा रिपोर्टमा देखिएन। क्वारेन्टाइनमा बसेर मनको शंका मेटियो, मृत्युलाई पनि जितियो। अब गाउँमा गएर कोरोना बारे अरुलाई पनि सचेत गराउँछौं।'

लकडाउनको समय भारतबाट फिर्ता भएकालाई राख्न जिल्ला प्रशासनले विभिन्न २६ स्थानमा क्वारेन्टाइन स्थापना गरेको छ। अहिले १ सय ८२ जना क्वारेन्टाइनमा छन्। 

क्वारेन्टाइनमा बस्नुपर्ने अवधि पूरा भएका र नमुना परीक्षणको रिपोर्ट नेगेटिभ देखिएकालाई घर पठाइएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए। ‘एक जनामा पोजिटिभ देखियो,’ उनले भने,‘अहिलेसम्म त्यही केसबाहेक सबैको रिपोर्ट नेगेटिभ आएको छ।’

क्वारेन्टाइनमा बस्नेहरु सबैको स्वास्थ्य अवस्था समान्य रहेको छ। क्वारेन्टाइनमा नियमित स्वास्थ्य जाँच हुने गरेको उरफानले बताए। ‘भारतबाट आउँदा मनमा निकै डर थियो, क्वारेन्टाइनमा बस्नुपर्छ भनेपछि झन् दिमागले नै काम गरेन। परीक्षणबाट मनको आंशका हरायो,’ उनले भने।

क्वारेन्टाइनबाट निस्कने क्रममा अधिकांशको अनुहार निकै हँसिलो देखिन्थ्यो।

Link copied successfully