सामाजिक सञ्जालमा आह्वान गरिएको आन्दोलनका लागि सोमबार स्वत:स्फूर्त जेन-जीहरू भेला भएका थिए।
तिलोत्तमा — भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको निर्णयका विरुद्व जेन-जीहरूले बुटवलमा पनि प्रदर्शन गरेका छन्।
सामाजिक सञ्जालमा आह्वान गरिएको आन्दोलनका लागि सोमबार स्वत:स्फूर्त जेन-जीहरू भेला भएका थिए। बिहान ९ बजे राजमार्ग चौराहाबाट सुरु भइ बुटवल बहुमुखी क्याम्पसमा पुगेर प्रदर्शन समापन भएको थियो।
प्रदर्शनमा ४ सयभन्दा बढीको सहभागिता रहेको थियो। आन्दोलनमा सहभागी बिन्दु भुसालले देशलाई डुबाएर रमाइरहेको सरकारले नागरिकलाई दु:ख दिएको बताइन्। उनले आफूहरू स्वत: स्फूर्त सडकमा आएर अहिलेको भ्रष्टाचारी सरकार र उसको क्रियाकलापबारे आवाज उठाएको बताइन्।
आन्दोलनमै सहभागी युवराज काफ्लेले युवा पुस्तामा अहिलेको सरकारप्रति बढिरहेको बितृष्णा नै आन्दोलनको पहिलो रुप भएको बताए। उनले सामाजिक संजालमाथि प्रतिबन्ध लगाउने सरकार ढुङ्गे युगमा नागरिकलाई लैजाने प्रयासमा रहेको जनाए । उनले भने, 'आन्दोलनलाई मजाक सोच्ने सरकारलाई युवाले छोडदैनन्। युवाले सडकमा अन्दोलनसहित नाराबाजी गरेका थिए।
