जेन-जी पुस्ताको आन्दोलनमा कलाकारहरूको साथ

कलाकारहरूले सरकारको आलोचना गर्दै, भ्रष्टाचारविरुद्धको युवा आन्दोलनलाई समर्थन जनाएका छन्, जसले नयाँ पुस्ताको आवाजलाई उजागर गरेको छ।

भाद्र २३, २०८२

समर्पण श्री

With artists in the Zen-G generation movement

What you should know

काठमाडौँ — भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्दको विरोधमा जेन–जी पुस्ताले सोमबार बिहानदेखि सडकमा प्रशर्दन गरिरहेका छन् । उनीहरूको प्रदर्शनलाई कलाकारहरूले पनि साथ दिएका छन् ।

अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र आचार्यले पनि बिहान फेसबुक स्टाटसमार्फत् उनीहरूले आन्दोलनलाई समर्थन जनाए ।

हरवंशले घरनिरको सडक पिच गरेको केही समयमै भत्किएको दृश्य देखाउँदै लेखेका छन्, ‘म हरेक दिन मनमा सोच्दै थिएँ यो बाटो यति चाँडो कसरी भत्कियो ? हरेक दिन त्यही बाटो हिँड्छु तर सोच्छु मात्र । तर अहिलेको पुस्ता यस्ता प्रश्न मनभित्र मात्र सोच्दैनन् । प्रश्न उठाउछँन्,  जनताको करले बनेको बाटो किन भत्कियो ? कसरी भत्कियो ? यसको जिम्मेवारी कसको ? यो एउटा सानो उदाहरण मात्र हो आजका पुस्ताले प्रश्न गरेका । आज उठेको आवाज कुनै व्यवस्था बिरुद्वको आवाज होइन तर यो व्यवस्था हाकिराख्नु भएका सबै दलका नेता र कर्मचारीको कार्य माथिको  प्रश्न हो... ।’

उनले नेताहरूलाई लक्षित गर्दै उनीहरूबाट नयाँ पुस्ताले गरिररहेको भन्दा धेरै आशा राखेको भन्दै आफ्नो कार्य क्षमतालाई सुधारेर युवा पुस्तालाई हस्तान्तरण गर्न पनि आग्रह गरे ।

मदनकृष्णले पनि समर्थन जनाउँदै लेखेका छन्, ‘देशले हरेक काल खण्ड पार गरेको पढेको छु र कति त आफैंले पनि भोगेको छु । आवाजलाई दबाएको देखेको छु, भोगेको छु  । नाताबाद देखेको देख्यै छु । कृपावाद देखेको देख्यै छु । सत्तामोह देखेको देख्यै छु र यसकै कारणले हजारौंको संख्यामा हरेक दिन युवाहरु रोजगारीको लागि विदेशिन बाध्य भइरहेको देखेको देख्यै छु र देखी नै रहेको छु । भ्रष्टाचारले चरम सीमा नै नाघेको त अहिले हाम्रो आँखा अगाडि छर्लङ्ग नै छ । अनि यही कारणले नेपाल आमा पनि रोइरहेको देखेको छु ।’

उनी थप्छन्, ‘युवाहरु देशका भविष्य हुन् । युवाहरुको सपना नै नेपाल आमाको सपना हो । बर्षौंदेखि देशले एउटा राम्रो गति लिन नसकेको देखेर हरेक नेपालीको मनमा उकुसमुकुस भएको छ ।  यहि उकुसमुकुस नै हो अहिलेको पुस्ता जेन्जीको यो अवाज । यो अवाज सुनिनुपर्छ । भ्रस्टाचारीहरु थुनिनुपर्छ । देशका हर नागरिकहरुको चाहना बुझ्ने नेता चुनिनुपर्छ ।अन्तमा देशको सपना बुनिनुपर्छ ।’

गायक तथा अभिनेता प्रकाश सपुतले त बिहीबार दुई भाइ सुनिल र सचिनलाई सडकमा ओर्लन आह्वान समेत गरेर । ‘जे होस भोलि तिमीहरु जानु । मैले तिमीहरूको ख़ातामा २५/२५ हजार रुपैयाँ पठाइदिएको छु । जुन गत महिना युटुबबाट कर काटेर आएको थियो । थाहा छैन अब आउँछ कि आउदैन ! अँ, त्यो पैसा ले पानी किनेर बाँड्नु र भन्नु साथीहरुलाई- –हाईड्रेड रहनु , संयमित रहनु, एकै पटकमा नथाक्नु ।’

अभिनेता तथा निर्देशक निश्चल बस्नेतले पनि टिकटकमार्फत् जेन्जी पुस्ताको आन्दोलनलाई समर्थन जनाए । उनले सत्ता र शक्तिको मात लागेपछि नेताहरूले सुन्न छाडेको र जनतालाई दबाउने नियम बनाइरहेको आक्रोश पोखे । ‘पहिला पनि कोही न कोहीले लिड गरिरहेको थियो । यो पटक कोही न कोहीले हैन  देशमै बसिरहेका युवाहरू, जो भर्खर भर्खर हुर्किँदैछन् र जसलाई आफ्नो भविष्यको चिन्ता छ । उनीहरू लागि परेका छन् । हामी प्रोटेस्ट गर्छौँ भनिरहेका छन् । उनीहरू आफ्नो भविष्यको लागि लडिरहेका छन् । प्रहरीहरूलाई पनि अनुरोध गर्दै कुनै घटना हुनबाट जोगाउनु होला,’ उनले भनेका छन् ।

अभिनेत्री केकी अधिकारीले पनि ऐक्यवद्धता जनाउँदै लेखेकी छिन्– 

नहोस् कुनै चुल्हा चिसा

आगो निलेर उठ्नु।

पसिना आफ्नै माटोलाई

मुठ्ठी कसेर उठ्नु ।

अभिनेत्री वर्षाले राउत आफू काठमाडौंबाहिर भए पनि यो आन्दोलनलाई समर्थन रहेको र अरुलाई सहभागी हुनका लागि पनि टिकटिक सन्देशमार्फत् आह्जान गरिन् । अभिनेता अमोल केसी, प्रदीप खड्का, भोलाराज सापकोटा, अभिनेत्री वर्षा शिवाकोटी, गायिकाहरू एलिना चौहान, रचना रिमालसमीक्षा अधिकारीले पनि आन्दोलनमा ऐक्यवद्धता जनाउँदै सरिक हुन आह्वान गरेका छन् । त्यसैगरी अन्य कलाकारहरूले पनि ऐक्यवद्धता दिने क्रम जारी छ ।

समर्पण श्री उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully