जीर्ण बन्दै ९२ वर्ष पुरानो कारागार, बढ्दै सुरक्षा चुनौती

क्षमताभन्दा बढी कैदी र कमजोर सुरक्षा व्यवस्थाले रुपन्देही कारागारमा स्थिति जटिल बनेको छ भने कैदीबन्दी भाग्न सक्ने जोखिम बढेको छ ।

श्रावण २५, २०८२

दीपेन्द्र बडुवाल

92-year-old prison falling into disrepair, increasing security challenges

What you should know

भैरहवा — भवन जीर्ण भएकाले ठाउँ–ठाउँमा भत्किएको छ । पानी चुहिने समस्या त लामो समयदेखिको हो । कुनातिर लेउ र बिरुवा उम्रिएका छन् । घर्मी छल्न टिनका पातामाथि खर हालिएको छ । झन्डै शताब्दी समय गुजारिसकेको यो बुढो भवनले बर्खामा डुबानको समस्या पनि भोग्नुपर्छ । ढल निकास नहुँदा दुर्गन्ध उत्तिकै फेलिन्छ । 

यो हो, रुपन्देही जिल्ला कारागार ।‘१९९० सालमा निर्माण भएको कारगारको अर्को समस्या त क्षमताभन्दा बढी कैदीबन्दी हुनु हो । क्षमताभन्दा तेब्बर संख्यामा कैदीबन्दी र थुनुवा रहेकाले एक जनामाथि अर्को खप्टिएर सुत्नुपर्ने बाध्यता छ । संख्या धेरै भएपछि एक जनालाई पुग्ने खाना–पानी तीन जनाले बाँडेर खानु परिरहेको छ । दुई सय ५० क्षमताको कारागारमा अहिले ६ सय २८ जना छन् । रुपन्देहीको ४० डिग्रीभन्दा बढी तापक्रममा यातना सहेर बस्नुपरिरहेको यहाँका कैदीबन्दी सुनाउँछन् । 

कारागार प्रमुख सुरेश भण्डारीका अनुसार ९२ वर्षअघि निर्माण भएको कारागारको भौतिक संरचनाले थेग्न नसक्ने गरी कैदी, बन्दी र थुनुवाको चाप छ । ‘नाइके नियुक्तिदेखि सेवा सुविधाका विषयमा संवेदनशील हुनुपर्ने अवस्था छ, ’उनले भने, ‘एउटा कैदीमाथि अर्को खप्टिएर सुत्नुपर्ने अवस्था छ ।’ 

तारजाली लगाइएको पर्खालबाट कुनबेला के हुने हो भन्ने ठेगान छैन । असुविधा र अप्ठ्याराका कारण कारागारमा उत्पन्न हुने विभेदका कारण ‘ग्याङ’ निर्माणको खतरा हुने हुँदा आफूले नियमित निरीक्षण र कारागारभित्रको अवस्थाबारे जानकारी लिने प्रयास गरिरहेको उनले बताए । कारागारभित्रको प्रशासन चलाउन कोठा र डयुटी नाइके र चौकीदार व्यवस्था हुने उनले बताए । 

कारागारभित्र समूह खडा नहोस भनेर कहिलेकाहीँ आफै जेलभित्र गएर उनीहरुको अवस्थाबारे बुझने गरेको उनले बताए । भित्रका समस्या बुझ्न कैद पूरा गरेर घर जाने व्यक्तिलाई कार्यालयमा बोलाएर गाह्रोगाह्रोबारे जानकारी लिने गरेको उनको भनाइ छ । 'जेलभित्र नाइकेको व्यवहार बुझ्न पनि यस्ता व्यक्तिको जानकारी लाभदायक हुन्छ,' उनले भने, 'समयमै कारागारभित्रको सही सूचना संकलन गर्न सकिए व्यवस्थापनमा सहज हुने रहेछ । सेवासुविधाको अभावले पनि कहिलेकाहीँ विद्रोह भाव पैदा हुने भएकाले सावधानी अपनाउने गरिएको छ ।'

१९९० सालमा निर्माण भएकाले संरचना निकै जीर्ण छन् । सबैलाई पर्याप्त सेवासुविधा उपलब्ध छैन । पिउनेपानीकै टड्कारो समस्या छ भने बिजुली नियमित छैन । ‘सबैलाई पुग्नेगरी स्वास्थ्य सामाग्री उपलब्ध गराउन सकिएको छैन,’ प्रमुख भण्डारीले स्वीकारे, ‘पर्याप्त खेल मैदान र सामग्री व्यवस्थापन गर्न सकेका छैनौं ।’

कारागार आसपास अग्ला र भित्रका सम्पूर्ण गतिविधि नियाल्न मिल्ने व्यक्तिका घर रहेका छन् । ती घरबाट कारागारभित्रका गतिविधि नियाल्नका साथै तस्बिर खिच्न मिल्ने अवस्थाले सुरक्षा चुनौती रहेको कारागारले जनाएको छ । 

जिल्ला कारागार भैरहवाको मध्य भागमा रहेको छ । कारागारसँगै बस्ती जोडिएकाले खुला स्थान अभाव छ । वरिपरि मजबुत पर्खाल नहुँदा सुरक्षा चुनौती थपिएको छ । सामान्य जाली लगाएर कारागार क्षेत्र घेरिएको छ । घेरिएको क्षेत्रमा सबैतिर काँडेतार समेत नहुादा कैदीबन्दी भाग्ने र अन्य भित्र–बाहिर दुवैतर्फबाट अपराधिक क्रियाकलाप हुन सक्ने जोखिम छ ।

दीपेन्द्र

Link copied successfully