गुल्मीमा वडाध्यक्षको मतगणना सुरु

मंसिर १६, २०८१

गगनशिला खड्का

The counting of votes for ward president has started in Gulmi

गुल्मी — गुल्मीको मुसिकोट नगरपालिका–१ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । आइतबार बेलुका सवा ९ बजेदेखि वडा नं. १ को कार्यालय पौदी अमराइमा मतगणना सुरु भएको निर्वाचन अधिकृत ऋषिराम घिमिरेले बताए ।

मुसिकोट-१ को वडाध्यक्षको उपनिर्वाचनमा ५७ दशमलव ०५ प्रतिशत मत खसेको थियो । उक्त वडामा ४ हजार ९१ मतदाता रहेकोमा आइतबार भएको उपनिर्वाचनमा २ हजार ३३४ मत खसेको घिमिरेले बताए । 

वडाध्यक्ष पदका लागि आठ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । रिक्त वडाध्यक्षका लागि नेपाली कांग्रेसका आनन्द श्रेष्ठ, नेकपा एमालेबाट दलबहादुर थापा, माओवादी केन्द्रका दुर्गाबहादुर बिक र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विकास थापा, राप्रपाबाट ईश्वरी खाती तथा स्वतन्त्रतर्फ पोमानन्द खरेल, कुलबहादुर थापा र योगेन्द्र खरेलका बीच चुनावी प्रतिस्पर्धा भएको छ । नेकपा (एकीकृत समाजवादी)ले माओवादी उम्मेदवार बिकलाई समर्थन गरेको थियो । 

उक्त वडामा यसअघि कांग्रेसले वडाध्यक्ष जितेको थियो । निर्वाचित वडाध्यक्ष मोहन घिमिरेको २०८० भदौ २ गते निधन भएपछि रिक्त पदका लागि उपचुनाव भएको हो । मतगणनाको नतिजा आजै सार्वजनिक हुने निर्वाचन अधिकृत घिमिरेले बताए । 

गगनशिला खड्का कान्तिपुरकी गुल्मी संवाददाता हुन् ।

Link copied successfully