जाजरकोटको कुशे- ७ मा कांग्रेसका सिंह विजयी 

मंसिर १६, २०८१

ज्योति कटुवाल, तृप्ति शाही

Singh of Congress wins in Kushe-7 of Jajarkot

वीरेन्द्रनगर — जाजरकोटको कुशे गाउँपालिका - ७ मा कांग्रेसका उम्मेदवार खम्बबहादुर सिंह विजयी भएका छन् । माओवादी केन्द्रका गोरखबहादुर घर्तीलाई पराजित गर्दै उनी विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सिंह १५ मतको मतान्तरले विजयी भएका छन् । कांग्रेस उम्मेदवार सिंहले ३ सय ४७ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका  घर्तीले ३ सय ३२ मत प्राप्त गरेका छन् । १ हजार ३ सय २ मतदाता रहेको वडामा ९ सय ५६ मत खसेको थियो ।  

एमालेका गोरखबहादुर नेपालीले २ सय ५२ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका लालबहादुर खत्रीले ७ मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकारी नविनकुमार कठायतले जानकारी दिए । १५ मत बदर भएको छ । 

पहिले यो वडा माओवादी केन्द्रले जितेको थियो । वडाध्यक्ष मुनबहादुर घर्तीको निधन भएपछि रिक्त रहेको वडाध्यक्ष पदमा उपनिर्वाचन भएको हो ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully