युवा नेताको चाहना ‘हाइटेक’ कांग्रेस

लामो समयदेखि जिल्ला राजनीतिको विरासतमा रहेका पाका नेताहरुलाई यसपटक तन्नेरी पुस्ताले विस्थापित गरिदिएको छ । पार्टीभित्रको गुट–उपगुट अन्त्य हुनुपर्नेमा उनीहरुको मुख्य जोड छ ।

मंसिर ११, २०७८

प्रदेश ब्युरो

भैरहवा — नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट युवाहरू जिल्ला सभापति र महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् । तन्नेरी पुस्ताको जितले लामो समयदेखि जिल्ला राजनीतिको विरासतमा रहेका पाका नेताहरू बाहिरिएका छन् । युवा नेताले कांग्रेसलाई ‘हाइटेक’ बनाउन पहल गर्ने बताएका छन् । उनीहरूले पार्टीमा देखिएको गुट–उपगुट अन्त्यमा जोड दिने पनि बताए । 

पार्टीलाई गतिशील बनाउन युवाको काँधमा जिम्मेवारी आएको कपिलवस्तु क्षेत्र नं ३ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित ४० वर्षीय अभिषेकप्रताप शाहले बताए । ‘कांग्रेसलाई अब हाइटेक र स्मार्ट बनाउनुपर्छ,’ उनले भने, ‘त्यो अभिभारा युवामा आएको छ ।’ युवाहरू नेतृत्वमा आएकाले हौसला बढेको उनले बताए । ‘भर्खर कांग्रेसको सक्रिय राजनीतिमा लागेको थिएँ,’ क्षेत्र नं १ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित आशिष शर्माले भने, ‘एजेण्डा र उद्देश्यकै बलमा  विजयी भएको हुँ ।’ क्षेत्र नं ३ बाट विजयी २८ वर्षीया महाधिवेशन प्रतिनिधि सुशीला बेल्बासेले कांग्रेसलाई गुटगत राजनीतिबाट अलग गरी बलियो र उत्तरदायी पार्टी बनाउन लाग्नुपर्ने बताइन् ।

अर्घाखाँचीको सन्धिखर्क–३ का २८ वर्षीय जमशेर मियाँ मुस्लिम, अल्पसंख्यक तथा अपांग कोटाबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भए । ५० वर्ष उमेरमाथिका ४ जनालाई पछाडि पार्दै उनले ३ सय ९ मत ल्याए । खुला १० र समावेशी १४ गरी २४ जनामध्ये उनी कान्छो महाधिवेशन प्रतिनिधि हुन् । ‘कांग्रेसमा युवा पनि नेतृत्वमा आउन सक्छन्, पार्टी हाँक्न सक्छन् भन्ने यो निर्वाचनले पुष्टि गरेको छ,’ उनले भने । युवाले नै कांग्रेसको संगठनलाई बलियो र परिवर्तन पनि गर्न सक्ने उनले दाबी गरे । उनले केन्द्रमा पनि यसैगरी युवा नेतृत्व आउनुपर्ने बताए । 

रूपन्देहीबाट महाधिवेशन प्रतिनिधिमा विजयी ४० वर्षमुनिका युवाको संख्या उल्लेख्य छ । प्रकाशसिंह थारू, विष्णु पोख्रेल, गोपाल पाण्डे त्यसैमा पर्छन् । क्षेत्र नं. ५ बाट महाधिवेशन प्रतिनिधि चुनिएका पोख्रेल २०५६ मै नेविसंघ अर्घाखाँचीको सभापति चुनिएका थिए । पछि बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा इकाइ सभापति हुँदै उनी जिल्ला समिति सदस्य भए । राजनीति गर्ने व्यक्ति व्यावसायिक वा पेसामा आबद्ध हुन जरुरी रहेको बताउँदै उनले त्यस्ता व्यक्तिले भ्रष्टाचार नगर्ने र अन्यले गरेको भ्रष्टाचारको चेपुवामा पनि नमुछिने दाबी गरे । 

पाल्पामा पनि यसअघिको तुलनामा महाधिवेशन प्रतिनिधिमा धेरै युवा चुनिए । क्षेत्र नं १ र २ बाट निर्वाचित ५० मध्ये कम्तीमा १० जना युवा छन् । उनीहरुले पुराना चर्चित नेतालाई पराजित गरेका हुन् । अघिल्लो अधिवेशनमा मुस्किलले ३ युवा मात्रै चुनिएका थिए । तरुण दलको अध्यक्षसमेत रहेका मेजरसिंह केसी पनि महाधिवेशन प्रतिनिधि बने । उनले अब युवालाई आर्थिकसँगै राजनीतिक क्रान्तिमा लैजान जरुरी रहेको बताए । ‘युवाको भविष्य उज्ज्वल गराउनेतर्फ ध्यान पुगेन भने राजनीतिमा युवाको आकर्षण घट्नेछ,’ उनले भने, ‘त्यसैले युवालाई नीति, सिद्धान्त, आदर्शसँगै पेसा, व्यवसायमा जोडिनु जरुरी छ ।’ राजनीतिमा नागरिकको सहभागिता बढाउनुपर्ने उनको सुझाव छ । विद्यार्थी राजनीति गर्दै आएका लक्ष्मण भट्टराई पनि महाधिवेशन प्रतिनिधिमा विजयी भए । पछिल्लो समय नेतृत्व पंक्तिले पार्टीमा युवा आकर्षण बढाउन नसकेको औंल्याए ।

गुल्मीको इश्मा गाउँपालिका–२ की पार्वती कुँवर जिल्लाकै कम उमेरकी महाधिवेशन प्रतिनिधि बनेकी छन् । उनले ५ सय ७१ मत पाएकी थिइन् । २०६८ देखि रेसुंगा बहुमुखी क्याम्पसको छात्रा संघको सचिवबाट राजनीतिमा प्रवेश गरेकी उनी क्याम्पस इकाइ सदस्य, नेविसंघ जिल्ला सदस्य, सचिव, कांग्रेसको १३ औँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि, नेपाल महिला संघ गुल्मीको क्षेत्रीय कोषाध्यक्ष हुँदै अहिले महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी हुन् । व्यवस्थापन संकायमा स्नातकोत्तर गरेकी कुँवर अधिवक्तासमेत हुन् । मदाने गाउँपालिका–३ पुर्कोटसीमका ३० वर्षीय चार्टर्ड एकाउन्टेन्ट (सीए) पदम भट्टराई अत्यधिक मतसहित महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि निर्वाचित भए । २०४८ मा जन्मिएका उनले ०६४/६५ देखि नेविसंघ गुल्मी–काठमाडौं सम्पर्क समिति सदस्यमा आबद्ध भई राजनीतिक जीवनको सुरुवात गरेका हुन् । भारतमा अध्ययनका क्रममा र फर्किएपछि पनि उनी निरन्तर कांग्रेसको राजनीतिमा सक्रिय थिए ।

गुल्मी क्षेत्र नं १ का ३२ वर्षीय इन्जिनियर अमृत ज्ञवालीले पनि महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मत प्राप्त गरे । ९ सय ४३ मत खसेकामा उनले ६ सय १९ मत पाएका थिए । राजनीतिमा युवाहरूको सहभागिताले नागरिकमा ऊर्जा थपिएको उनको भनाइ छ । कांग्रेसजस्तो पुरानो पार्टीले निर्वाचनबाट नेतृत्व छनोट नगरेको भए आफूजस्ता युवा नेतृत्वमा पुग्नै नसक्ने उनले दाबी गरे ।

प्रायः नयाँ पुस्ताले स्थान नपाउने भएपछि कांग्रेसलाई ‘बूढाहरूको पार्टी’ भनेर टिप्पणी गरिन्थ्यो तर यसपटकको निर्वाचनमा भने युवाहरूले महत्वपूर्ण भूमिकामा प्रवेश पाएका छन् । केही पाका नेताहरूले भने हार व्यहोरेका छन् । यसले राजनीतिमा युवा आकर्षणलाई बढावा दिएको छ भने पुरानो पुस्तालाई चुनौती थपिदिएको छ ।

२८ वर्षीय अनुराग खड्का दाङ क्षेत्र नं १ बाट महाधिवेशन प्रतिनिधि छानिए । उनी खुला प्रत्यक्षतर्फबाट २१ प्रतिस्पर्धीमध्ये सबैभन्दा बढी ४ सय ९७ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनले यसलाई स्वर्गीय बुबा खुमबहादुर खड्काप्रतिको मायाका रूपमा बुझेका छन् । ‘राजनीतिमा हामीजस्ता युवाको आवश्यकता छ । सबैले माया गर्नुभएको छ,’ उनले भने, ‘यो मायालाई आत्मसात् गर्दै राजनीतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छु ।’

अनुरागजस्तै क्षेत्र नं २ बाट दीपक पाण्डे र महेशराज श्रेष्ठ निर्वाचित भए । क्षेत्र नं ३ बाट विद्यार्थी नेता २९ वर्षीय अरुण लहरे छानिए । घोराही नगर सभापतिको नेतृत्वमा युवा नेता तिलक रावत  पुगे । निर्वाचित भएपछि जिम्मेवारी थपिएको महसुस भएको लहरेले बताए । ‘थप जिम्मेवारी पूर्ण निष्ठाका साथ बहन गर्नेछु,’ महाधिवेशन प्रतिनिधिको प्रमाणपत्र बुझ्दै उनले भने, ‘देश र जनताका लागि युवाहरूले काम गर्ने बेला आएको छ ।’ पूर्वजिल्ला सभापतिलगायत पाका नेतानै यसपटक पराजित भएका छन् । यसमै पर्छन् वीरकेशरी गौतम, घनश्याम रेग्मी र मोहनलाल वली ।

प्रदेशसभा निर्वाचनमा उम्मेदवार भएका भरतबहादुर न्यौपाने, अग्रज नेता वासुदेव जंगली, श्याम रेग्मी, हरिप्रसाद रजौरिया, भरत केसीलगायत नेता पनि छानिएनन् । अर्कोतर्फ विभिन्न राष्ट्रिय महत्त्वका व्यक्तिहरूले पनि राजनीतिमा प्रवेश पाएका छन् । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष नहकुल केसी, तुलसीपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विमल रिजाल, महिला अधिकारकर्मी विमला योगी, सुष्मा गिरीलगायत पनि महाधिवेशन प्रतिनिधि बने ।

राजनीतिमा युवाहरूको आकर्षणलाई सकारात्मक रूपमा लिनुपर्ने बताउँछन् कांग्रेस दाङका सचिव शंकर डाँगी । ‘युवाहरूलाई जनताले रुचाएका छन् । राजनीतिमा युवाहरूको प्रवेश सकारात्मक छ,’ उनले भने, ‘यसले देशको राजनीतिमा युवाहरूको भूमिकालाई बढावा दिएको छ ।’ बिस्तारै युवाहरू पार्टीका महत्त्वपूर्ण पदमा पनि पुग्ने उनको दाबी छ ।

कांग्रेसको प्यूठान सभापतिमा पनि युवा नेता  नै निर्वाचित भए । नौबहिनी गाउँपालिका अध्यक्षसमेत रहेका विष्णुकुमार गिरी जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । यसैगरी, उपसभापति बनेका देवेन्द्र बर्मा, सहसचिव प्रमोद पोख्रेललगायत पनि युवा नै हुन् ।

पश्चिम नवलपरासीबाट ५० महाधिवेशन प्रतिनिधि चुनिएकामा १६ जना ४० वर्षमुनिका छन् । सुनवल–२ का यज्ञ पौडेल पहिलोपटक महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए । उनी यसअघि तरुण दलको जिल्ला कार्यसमितिमा थिए ।

यसअघिको महाधिवेशनमा उमेर नपुगेको भनेर आफूलाई उम्मेदवार बन्नबाट रोकिएको उनले स्मरण गरे । ‘उमेरदार र लामो समय राजनीति गरेकालाई मात्रै महाधिवेशन प्रतिनिधि बनाउने प्रचलन कांग्रेसमा थियो,’ उनले भने, ‘तर यसपटक त्यो परम्परा तोडियो ।’ एउटै व्यक्ति पाँचपटकसम्म महाधिवेशन प्रतिनिधि बन्ने, महाधिवेशनमा आफ्नो गुटका नेतालाई मात्र भोट हाल्ने, नीति निर्माणमा चासो नदिने भएकैले कांग्रेस पार्टी सुस्ताएको उनले गुनासो गरे ।

कांग्रेस महाधिवेशन

प्रदेश

Link copied successfully