रूरूक्षेत्र डुबानमा

तीनमुखे पुल निर्माणका लागि राखिएको सामान बाढीले बगायो

असार २, २०७८

माधव अर्याल

पाल्पा — अविरल वर्षासँगै रिडीखोला र कालीगण्डकी नदीमा जलसतह बढेपछि धार्मिक पर्यटकीय रूरूक्षेत्र डुबानमा परेको छ । 

तीन दिनदेखिको वर्षाले तानसेन नगरपालिका–१४, अर्गली ऋषिकेशव मन्दिर र कुसेनीमा गरी ६ वटा घरटहराका बासिन्दा विस्थापित भएका छन् । रिडीखोला किनारमा बस्ने केही घरमा बाढी पसेको स्थानीय सुन्दर कसजुले जानकारी दिए । उनका अनुसार बाढी पसेपछि पसल र टहराका बासिन्दा विस्थापित भएका हुन् । 

ऋषिकेशव मन्दिर नजिकका चार र कुसेनीका २ घरका बासिन्दा विस्थापित भएको वडाध्यक्ष कमल रानाले बताए । गुल्मी रूरूक्षेत्र गाउँपालिका–१, रिडी गुल्मीको बसपार्कमाथि रहेको रिडी-खर्ज्याङ सडकखण्डका १० घर जोखिममा परेका छन् । रिडी खोलाले तटीय क्षेत्र कटान गरेको स्थानीयले बताए । रूरूक्षेत्रमा निर्माण भइरहेको तीनमुखे पुल, कालीगण्डकी करिडोर, रिडीखोलातथा कालीगण्डकी तट्बन्धमा पनि बाढीले क्षति पुर्‍याएको छ । 

तीनमुखे पुल निर्माणका लागि राखिएको सामग्रीसमेत बगाएको स्थानीय सुन्दर कसजुले जानकारी दिए । ऋषिकेशव मन्दिरका पुजारी चुरामणि तिमिल्सेनाका अनुसार मन्दिरको सिँढीसम्म पानीको सतह बढेर आएको छ । मंगलबार बेलुकीभन्दा बुधबार सतह केही घटेको छ । मन्दिर परिसरका बगैंचामा पनि पानीको सतह बढेर आएको छ । तीन जिल्लाको संगम रिडीमा शव जलाउने स्थानसमेत नभएको स्थानीयले बताए । 

तस्बिर सौजन्य : सुन्दर कसजु

बाढी-पहिरो

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully