गोरखाको ठोट्नरी खोलाले बगाउँदा बेपत्ता भएका एक जनाको शव फेला

असार २, २०७८

हरिराम उप्रेती

गोरखा — मंगलबार आरुघाट गाउँपालिका–२ स्थित ठोट्नरी खोलाले बगाएर बेपत्ता भएका गोविन्द चौधरीको शव फेला परेको छ ।

बर्दिया राजापुर नगरपालिका–७ घर भएका ३८ वर्षीय चौधरीको शव मान्द्रेथोकमा ढुङ्गाको चेपमा बुधबार भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी प्रकाश दाहालले बताए । ट्रक मर्मतको कामका लागि गोरखा वस्दै आएका चौधरी कटुन्जे जाँदै गर्दा मंगलबार विहान  ठाडो खोलाको भेलले वगाएर बेपत्ता भएका थिए । 

दुई दिनदेखि लगातार परेको वर्षाले जिल्लाभर १६ घरपरिवार विस्थापित भएका छन् । धार्चे गाउँपालिका–५ माछीखोलास्थित बूढीगण्डकी नदी किनारका १० घर विस्थापित भएका छन् । बूढीगण्डकी नदीको बहाव बढेर जोखिम बढेसँगै सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ । बारपाक सुलिकोट गाउँपालिका–४ झोलुङ्गेका दुई घर उच्च जोखिममा परेका छन् । स्थानीय सुरेश सुनार र सन्तबहादुर विकको कच्ची घर दरौंदी नदीको बहावले उच्च जोखिममा परेपछि उनीहरु हाल छिमेकीको घरमा बसिरहेका छन् । 

चुमनुव्री गाउँपालिका–३ सल्लेरीको चार घर बगाएपछि उनीहरुलाई आमा समूहको भवनमा राखिएको छ । उच्च जोखिममा रहेका अन्य सात घर पनि सुरक्षित स्थानको खोजीमा छन् ।

चुमनुव्री गाउँपालिका–३ घट्टेखोलाको(काठे पुल)फड्के खोलाले बगाएको छ । 

बाढी-पहिरो

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully