श्रीमतीको अवस्था गम्भीर
अर्घाखाँची — कोरोना संक्रमित बिरामीको आईसीयूमा उपचार नपाएर सन्धिखर्क अस्पतालमा ज्यान गएको छ ।
सामान्य रुघाखोकीपछि श्वास फेर्न गाह्रो भएपछि भूमिकास्थान नगरपालिका–३ धरापानी ठूलाखर्कका ५० वर्षीय पुरुष श्रीमतीसहित सन्धिखर्क अस्पतालमा भर्ना भए ।
बिहीबार अस्पतालमा भर्ना भएका दम्पतीको शुक्रबार पीसीआर रिपोर्ट पोजिटिभ आयो । सास फेर्न गाह्रो भएका इन्द्रबहादुरको राति ११ बजेतिर निधन मृत्यु भयो । श्रीमतीको सन्धिखर्क अस्पतालमा उपचार भइरहेको छ ।
अस्पतालका मेडिकल अधिकृत डा. जगदीश शर्माले ती पुरुषलाई शुक्रबार साँझतिर सास फेर्न असाध्यै समस्या भएको बताए । आईसीयूमा राखेर उपचार गर्नुपर्ने उनको अवस्था रहेको डा. शर्माले बताए । ‘यहाँ आईसीयू नभएकाले बुटवल लैजान भनेका थियौं,’ उनले भने, ‘राति मृत्यु भयो ।’
सन्धिखर्क अस्पतालमा आईसीयू नभएकाले उपचार गर्न सहज नभएको शर्माले बताए । श्रीमतीलाई श्वासप्रश्वासमा समस्या रहेको र उपचार भइरहेको उनले बताए ।
