‘तपाईंको मास्क खै ?’

वैशाख १८, २०७८

सम्झना रसाइली, हरिराम उप्रेती

तनहुँ, गोरखा, म्याग्दी — नयाँ भेरिएन्टसहितको कोरोना भाइरस संक्रमण देखिन थालेपछि जिल्लामा ‘तपाईंको मास्क खै’ अभियान सञ्चालन गरिएको छ । जिल्लाका १० वटै पालिकाका बजार क्षेत्र तथा बढी भीडभाडजन्य गतिविधि हुने स्थानलाई लक्षित गर्दै यस्तो सतर्कता अपनाइएको हो ।

कोरोना संक्रमणबाट सुरक्षित रहन मुख्य रूपमा मास्कको सही प्रयोग गर्नु, सेनिटाइजर तथा साबुनपानीले समयसमयमा हात धुनुपर्ने, सामाजिक तथा भौतिक दूरी कायम गर्नुपर्ने, भीडभाडजन्य गतिविधि गर्न नहुनेजस्ता सचेतनामूलक कार्यक्रमलाई पनि तीव्रता दिइएको छ ।

लामो समयको लकडाउनबाट अस्तव्यस्त जनजीवन लयमा फर्कंदै गर्दा सर्वसाधारणले मास्क लगाउने क्रम घट्नुका साथै भीडभाडजन्य गतिविधि बढ्दै गएको थियो । सर्वसाधारणमा संक्रमण जोखिम बढेकाले सचेतना जगाउने उद्देश्यसहित प्रहरी, स्वास्थ्य कार्यालय तथा पालिकाले तपार्इंको मास्क खै र स्वास्थ्य चेकजाँच कार्य अभियानकै रूपमा अगाडि बढाएका हुन् ।

जिल्लाभित्र पर्ने ७२ किमि पृथ्वी राजमार्ग र अन्य जिल्ला तथा छिमेकी मुलुक भारतबाट सहजै आवतजावत हुने भएकाले तनहुँ कोरोना संक्रमणको उच्च जोखिममा रहेको स्वास्थ्य कार्यालय प्रमुख शंकरबाबु अधिकारीले बताए । उनले भने, ‘सर्वसाधारणलाई मास्क लगाउन आग्रह गरिएको छ । यस अभियानलाई सबै स्थानीय तहमा निरन्तरता दिनेछौं ।’ सबै पालिकामा सचेतनामूलक कार्यक्रमसहित जिल्ला तथा विदेशबाट आउनेलाई अनिवार्य क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउन आग्रह गरिएको प्रहरी उपरीक्षक अरुण पौडेलले बताए । उनले भने, ‘मास्क भएकालाई लगाउन आग्रह गरिएको छ र नहुनेलाई वितरण पनि गरिएको छ । लगाउन अटेर गर्नेलाई कारबाहीसमेत गर्नेछौं ।’ 

यस्तै सबै पालिकाले मास्क, सेनिटाइजरको प्रयोग, साबुनपानीले हातधुने, भौतिक तथा सामाजिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका सावधानी अपनाउन आग्रहसहित पालिका प्रवेश नाकामा हेल्पडेस्क सञ्चालन गर्न थालेका छन । देवघाट प्रवेश गर्ने नाकामा हेल्पडेक्स सञ्चालन गरी प्रवेश गर्ने नागरिकको स्वास्थ्य परीक्षणका साथै आवश्यक परामर्श दिने तयारी गरेको अध्यक्ष दुर्गाबहादुर थापाले बताए । यसैगरी बन्दीपुरमा पर्यटकलाई प्रवेशमा रोक लगाइएको छ । कोरोना संक्रमणको जोखिम बढेपछि यस्तो निर्णय गरिएको गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले बताए । अन्य जिल्ला तथा बाहिरी मुलुकबाट आउनेलाई अनिवार्य रूपमा होमक्वारेन्टाइनमा बस्नुपर्ने प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए ।

मास्क नलगाउने ९० जनालाई कारबाही

गोरखा– मास्क नलगाउने ९० जनालाई प्रहरीले कारबाही गरेको छ । संक्रमण रोग निवारण ऐन २०२० बमोजिम मास्क नलगाउनेलाई एक सय रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रहरीका डीएसपी प्रकाश दाहालले बताए ।

कोरोना जोखिम बढेसँगै प्रहरीले वैशाख १३ बाट ‘तपाईंको मास्क खै’ लगायत स्वास्थ्य सुरक्षा पालना गर्न आग्रह गर्दै चेतनामूलक अभियान सुरु गरेको छ । प्रहरी निरीक्षक तिलक मानन्धर नेतृत्वको टोलीले सदरमुकाममा प्लेकार्डसहितको अभियान चलाइरहेको छ । ‘सदरमुकाम र ग्रामीण बजारमा सञ्चालन गरिएको अभियान प्रभावकारी भएको छ,’ दाहालले भने, ‘पछिल्लो समय मास्क लगाउने बढेका छन् ।’ प्रहरीले प्लेकार्डसहित सार्वजनिक स्थलमा माइकिङ गर्दै आएको छ । अभियानमा ३ सय जनालाई मास्क वितरण गरिएको छ । 

यात्रुको ट्र्याकिङ सुरु

म्याग्दी– नयाँ भेरिएन्टसहितको कोरोना संक्रमण समुदायमा फैलिएपछि भारतसहित देशका जोखिम क्षेत्रबाट जिल्ला भित्रने यात्रुको ट्र्याकिङ सुरु गरिएको छ ।

जिल्ला भित्रने मुख्य नाका सदरमुकाम बेनीको कालीपुलमा होल्डिङ सेन्टर तथा हेल्थ डेक्स स्थापना गरी निजी तथा सार्वजनिक सवारीका यात्रुलाई स्वास्थ्य परीक्षण तथा कन्ट्याक ट्र्याकिङ सुरु गरिएको हो ।

स्वास्थ्यकर्मीसहित होल्डिङ सेन्टरमा रहेका स्थानीय तहका प्रतिनिधिले कोरोना संक्रमणको लक्षण, अवस्था र जोखिमबारे सावधानी गराउने, उनीहरूको स्वास्थ्य अवस्थाको जानकारी संकलन गरी अवस्थाअनुसार पीसीआर वा एन्टिजेन टेस्ट गराउने भएको छ । लक्षण नदेखिएका यात्रुको भने जिल्लामा रहँदाको ठेगानासहित सम्पर्क नम्बर लिएर सम्बन्धित वडा कार्यालय र जनप्रतिनिधिलाई विवरण उपलब्ध गराउने छ । स्थानीय तहले निगरानी राख्ने गरी यात्रुको ट्र्याकिङ थालिएको जिल्ला कोरोना संकट व्यवस्थापन समिति (डीसीसीएमसी) ले जनाएको छ ।

‘कोरोना संक्रमणको जोखिम कम गर्न भारत र देशकै अति प्रभावित क्षेत्रबाट आएका यात्रुलाई होल्डिङ सेन्टरमा राखेर सावधानी गराउने, स्वास्थ्य परीक्षण गरी आवश्यकतानुसार स्वाब वा एन्टिजेन परीक्षण गराउने र गन्तव्यमा पुगेपछि होमक्वारेन्टाइनमा राख्न ट्र्याकिङ राख्ने प्रयास थालेका हौं,’ स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्सालले भने, ‘यी सबै प्रयास व्यक्ति आफैं सचेत नभई सफल रहँदैन ।’

कोरोना भाइरस

सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully