काठमाडौँ — कांग्रेस सांसद तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले कोरोना संक्रमणले भयावह रूप लिँदा पनि महामारी प्रधानमन्त्री केपी शर्मा ओलीको प्राथमिकतामा नपर्नु आपत्तिजनक भएको बताएका छन् ।
शनिबार बिहान ट्वीट गर्दै थापाले कोरोना संक्रमणको भयावह अवस्था सरकार एक्लैले सामना गर्न नसक्ने भए पनि स्वास्थ्य मन्त्रालयले 'हामी सक्दैनौँ' भनेर हात उठाउनु र प्रधानमन्त्रीको प्राथमिकतामा महामारी नपर्नु आपत्तिजन भएको बताएका हुन् । उनले कोरोना रोकथाम र नियन्त्रणमा सबै पक्ष र आम नागरिक सचेत,सतर्क र जिम्मेवार बन्नैपर्ने पनि बताएका छन् ।
थापाले लेखेका छन्, ' कोरोना संक्रमणको जुन भयावह अवस्थामा हामी छौँ,निश्चय नै सरकार एक्लैले यसको सामना गर्न सक्दैन।सबै पक्ष र आम नागरिक सचेत,सतर्क र जिम्मेवार बन्नैपर्छ। तर प्रधानमन्त्रीज्यू यो लडाइँमा'हामी सक्दैनौँ´भनेर मन्त्रालयले हात उठाउने अनि तपाईँको प्राथमिकतामा अझै पनि महामारी नपर्ने ! आपत्तिजनक छ ! कठिन छ,तर अझै हामीसँग उपलब्ध स्रोत,साधन,जनशक्तिको सदुपयोग गरेर क्षति न्यूनीकरण गर्न सकिने ठाउँ छ। त्यसका लागि उपाय जानेकाहरुको कुरा सुन्न र आवश्यक निर्णय लिन सरकार तयार हुनुपर्छ। प्रधानमन्त्रीज्यू,हामी साथ दिन तयार छौँ, कृपया अब त अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लनुस।'
कोरोना संक्रमणको जुन भयावह अवस्थामा हामी छौँ,निश्चय नै सरकार एक्लैले यसको सामना गर्न सक्दैन।सबै पक्ष र आम नागरिक सचेत,सतर्क र जिम्मेवार बन्नैपर्छ।तर @PM_Nepalज्यू यो लडाइमा'हामी सक्दैनौँ´भनेर मन्त्रालयले हात उठाउने अनि तपाईँको प्राथमिकतामा अझै पनि महामारी नपर्ने!आपत्तिजनक छ!(१/२)
— Gagan Thapa (@thapagk) May 1, 2021
कोभिड–१९ को संक्रमण उच्च गतिमा फैलिरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्था आएको बताएको छ । यो भनाइबाट सरकारले महामारी नियन्त्रणमा हात उठाएको हो ? भन्ने प्रश्न उठेको छ । मन्त्रालयले शुक्रबार सार्वजनिक अपिल जारी गर्दै काठमाडौं उपत्यकासहित २२ जिल्लामा संक्रमण फैलने दर डरलाग्दो भएकाले अस्पतालमा राखेर हेरचाह गर्न शय्या उपलब्ध गराउन नसकिने अवस्था आइसकेको जनाएको हो ।
