प्रदेश १ मा पनि बढ्यो कोरोना

एक सातामै थपिए १६ सयभन्दा बढी संक्रमित, विराटनगरमा मात्रै ६ जना भेन्टिलेटर र ३६ को आईसीयूमा उपचार चल्दै

वैशाख १८, २०७८

कान्तिपुर संवाददाता

विराटनगर — विराटनगर–२ सोमबारेमा दुई वर्षीय बालकसहित एकै परिवारका पाँच जनालाई संक्रमण पुष्टि भएको छ । महानगरका १९ वटै वडामा यस्ता संक्रमित परिवार धेरै छन् । केही टोल नै संक्रमित छन् ।

विराटनगर महानगरमा संक्रमण बढ्दै गएकाले यहाँका कोसी अस्पताल, नोबेल र विराट शिक्षण अस्पतालले संक्रमितका लागि छुट्याएका बेड भरिन थालेका छन् ।

पछिल्लो समय विराटनगरमा दैनिक थपिने संक्रमितको संख्या सयभन्दा बढी छ । बढ्दो संक्रमणलाई लक्षित गर्दै प्रदेश सरकारले विराटनगरस्थित कोभिड उपचार केन्द्रमा थप ९६ बेडको अस्थायी अस्पताल शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ । जसमा २१ वटा भेन्टिलेटरसहितको आईसीयू र ८३ अक्सिजनजडित बेड छन् । यो उपचार केन्द्रमा हाल गम्भीर खालका ३२ संक्रमित भर्ना छन् ।

त्यसैगरी, नोबेल शिक्षण अस्पतालमा २९ जना संक्रमितको उपचार भइरहेकामा ९ जना आईसीयूमा रहेको अस्पतालका निर्देशक नारायण दाहालले बताए । उनका अनुसार अस्पतालले संक्रमित लक्षित अक्सिजनजडित सय बेड र आईसीयूमा ४९ बेडको व्यवस्था गरेको छ । यहाँको विराट मेडिकल कलेजमा ६८ संक्रमितको उपचार भइरहेको छ । कलेजका कोरोना विभाग प्रमुख सुनील देवले यस्तै अवस्था रहे १/२ दिनमै संरक्षितलक्षित बेड भरिने आकलन गरे ।

विराटनगरमा मात्रै ४२ जना सघन उपचारमा

प्रदेश १ मा संक्रमित दिनहुँ थपिने क्रम जारी छ । गत शुक्रबारयता १ हजार ६ सय ८ संक्रमित थपिएका छन् । जसमध्ये विराटनगरका मात्रै हजारभन्दा बढी छन् । यस अवधिमा ५ हजार ४ सय २ जनाले परीक्षण गराएका सामाजिक विकास मन्त्रालयले जनाएको छ । हाल प्रदेशभर सक्रिय संक्रमितको संख्या २ हजार १ सय ४१ छ । विराटनगरमा मात्रै ३६ जना आईसीयूमा र ६ जनाको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको छ ।

प्रदेशमा शुक्रबार ३ जना निको भएका छन् भने २ सय ९१ संक्रमित थपिएका छन् । यो संख्या मोरङमा १ सय ५३, सुनसरीमा ५५ र झापामा ५८ छ । मोरङमा संक्रमित भेटिएकामध्ये १ सय २० (७८ प्रतिशत) जना विराटनगरकै रहेका मन्त्रालयले जनाएको छ । शुक्रबार दुई जनाको मृत्युसँगै प्रदेशमा हालसम्म मृत्यु हुने संक्रमितको संख्या ४ सय ९२ पुगेको छ । महामारी सुरु भएयता शुक्रबारसम्म २ लाख ४२ हजार ३ सय ७९ जनाको परीक्षण गरिएकामा ३२ हजार ६ सय ५१ जनामा संक्रमण पुष्टि भएको छ ।

‘गत वर्षको जस्तो मास परीक्षण भइरहेको छैन, पहिले आफैं पनि जँचाउन आउनेको संख्या धेरै हुन्थ्यो,’ कोसी अस्पतालको कोभिड विभागका निर्देशक कमलकिशोर यादवले भने, ‘अहिले लक्षण नदेखिएसम्म आउँदैनन् तर भइरहेका परीक्षणले संक्रमण दर बढी र तीव्र देखाउँछ ।’

मोरङमा शनिबारदेखि निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर महानगर, जहदा, बूढीगंगा र कटहरीको वडा १ देखि ४ सम्म शनिबार मध्यरातदेखि एक साताका लागि निषेधाज्ञा घोषणा गरिएको छ ।

सहायक प्रजिअ शरदकुमार पोखरेलले अत्यावश्वक सेवा तथा व्यवसायलाई समय तोकेर निषेध आदेश जारी गरिएको बताए । ‘अत्यावश्यकीय सेवाबाहेकका सवारीसाधन चलाउन पाइने छैन,’ उनले भने, ‘दैनिक उपभोग्य र निर्माण सामग्रीको पसल बिहान ८–१० बजेसम्म २ घण्टा खोल्न पाइनेछ ।’

महानगरमा दैनिक संक्रमितको संख्या बढ्दै गएकाले निषेधाज्ञा लगाउनुपरेको पोखरेलको भनाइ छ । ‘दैनिक संक्रमित थपिँदै गए पनि बजारमा भीडभाड, विवाह, व्रतबन्धजस्ता कार्यक्रम नरोकिएका कारण पनि निषेधाज्ञा लगाउनुपरेको हो,’ उनले भने ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully