हेटौंडा — मकवानपुरमा कोरोना संक्रमितको संख्या बढेसँगै हेटौंडा अस्पतालमा कोभिड आईसीयू सञ्चालनमा आएको छ ।
सरकारले कोरोना संक्रमण दर उच्च रहेको जिल्लामा मकवानपुरलाई पनि राखेसँगै हेटौंडा अस्पताल परिसरमा भेन्टिलेटरसहितको आईसीयू बेड ६ वटा र १४ बेडको एचडीयू गरी २० बेडको कोभिड उपचार कक्ष सञ्चालनमा आएको हो । यसअघि १० बेडको एचडीयू सेवा सञ्चालनमा रहेको थियो । अब हेटौंडा अस्पतालमा कोरोनाको गम्भीर बिरामीका लागि ३० बेडको उपचार कक्ष सञ्चालनमा आएको छ । हाल हेटौंडामा चार जना संक्रमित उपचाररत् रहेका छन् ।
हेटौंडा अस्पतालका कोभिड फोकल पर्सन डा. सागर काफ्लेका अनुसार बाहिरी जिल्लाका बिरामीहरु पनि उपचारका लागि आउन थालेका छन् । ‘तराईमा संक्रमित बढिरहेका छन् । चितवनका अस्पतालहरु बिरामीले भरिएका छन् । बिस्तारै हेटौंडामा संक्रमितहरु उपचारका लागि आउन थालेका छन् । त्यसकारण हामी बेलैमा चनाखो हुन जरुरी रहेको छ,’ उनले भने ।
कोरोनाको बिरामीको चाप बढ्दै गए पूरै हेटौंडा अस्पताललाई नै कोरोना डेडिकेटेड अस्पतालको रुपमा सञ्चालन गर्ने तयारी गरिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईंले जानकारी दिए । ‘हामीले अस्पतालमा बिरामी भर्ना कम गरेका छौं । अस्पतालभित्रै रहेको आईसीयू तथा एचडीयू सेवामा पनि तत्कालका लागि नयाँ बिरामी राख्दैनौं । अहिलेको प्राथमिकता कोरोना संक्रमितको उपचार हो,’ डा. काफ्लेले भने ।
हेटौंडा अस्पतालले अहिले फिभर क्लिनिक सञ्चालन सुरु गरेको छ । स्वास्थ्य मन्त्रालयले आवश्यकताअनुसार ओपीडी सेवा बन्द गर्न सक्ने परिपत्र गरिसकेको भन्दै हेटौंडा अस्पताल सञ्चालक समितिका सदस्य उत्सव चौंलागाईले बिरामीको अवस्था हेरेर ओपीडी सेवा बन्द गरिने बताए ।
चिकित्सकको सिफारिसमात्रै अक्सिजन खरिदबिक्री
मकवानपुरमा चिकित्सकको सिफारिसबिना अक्सिजन खरिदबिक्री गर्न नपाइने भएको छ ।
हेटौंडा अस्पतालमा अक्सिजन सञ्चय गर्न सिलिन्डर जम्मा गरिँदै।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले अक्सिजन अभावका कारण संक्रमितको उपचारमा कठिनाइ नहोस् भनेर चिकित्सकको सिफारिमा मात्रै अक्सिजन सिलिन्डर उपलब्ध गराइने व्यवस्था गरिएको बताए । ‘अक्सिजन सिलिन्डर सप्लार्यसहरूले दैनिक बिक्री र मौज्दातको विवरण प्रशासन र स्वास्थ्य कार्यालय बुझाउनुपर्छ,’ उनले भने । जिल्लामा रहेका तीन वटै अक्सिजन सिलिन्डर सप्लायर्सलाई सबै अक्सिजन सिलिण्डर भरेर राख्न निर्देशन दिएको पनि उनले बताए ।
‘घरघरमा सिलिण्डर राख्ने काम भएको रहेछ । हामीले सबै झिकाइसकेका छौं । १५ सय सिलिण्डर भरेर राखिएको छ । मकवानपुरको जनसंख्या धेरै छैन, पर्याप्त अक्सिजन सिलिन्डर छ । आत्तिनु पर्ने अवस्था छैन,’ उनले भने ।
अर्को सूचना नभएसम्मका लागि औद्योगिक प्रयोजनका लागि सिलिन्डर उपलब्ध नगराइने प्रजिअ पाण्डेले जानकारी दिए । जिल्लाको दसवटै स्थानीय तहलाई अक्सिजन प्लान्ट खरिद गर्न निर्देशन दिइएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताए । ‘सानो खालको अक्सिजन प्लान्ट खरिद गर्दा ४–५ बेडलाई अक्सिजन पुग्ने भएकोले सूचित गरेका छौं,’ उनले भने ।
