नेपालगन्ज — कोरोना संक्रमण दर बढेको क्षेत्रमा उपचार सेवा सुदृढ पार्न नेपालगन्ज उपमहानगरपालिकालाई कान्तिपुर पब्लिकेसन्सकी निर्देशक स्वस्तिका सिरोहियाले अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेकी छन् ।
उपमहानगरपालिकाका स्वास्थ्य संस्थामार्फत उपयोगका लागि निर्देशक सिरोहियाले ५ लाख १० हजार रुपैयाँ बराबरको ६ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेकी हुन् ।
उक्त सामग्री पब्लिकेसन्सका नेपालगन्ज कार्यालय प्रमुख अशोक श्रेष्ठले शुक्रबार उपमहानगरपालिका प्रमुख धवलशमशेर राणा, उपप्रमुख उमा थापा मगर र बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई संयुक्त रूपमा हस्तान्तरण गरेका छन् ।
निर्देशक सिरोहियाले आमा सौभाग्य स्वाँरको स्मृतिमा उपमहानगरपालिकालाई सहयोग उपलब्ध गराएको श्रेष्ठले बताए । आगामी दिनमा पनि स्वास्थ्यकर्मीका लागि पीपीई र पन्जालगायतका सामग्री उपलब्ध गराउने योजना रहेको जानकारी उनले दिए । कोरोना संक्रमितको संख्या बढेको बाँकेमा उपचारका लागि चाहिने अक्सिजन कन्सन्ट्रेटरको अभाव छ ।
उपमहानगरपालिकाले शुक्रबारदेखि संक्रमितको उपचारका लागि रामलिला मैदानस्थित सरकारी भवनमा अक्सिजनसहितको छुट्टै आइसोलेसन सञ्चालनमा ल्याएको छ ।
