२१ देखि ४० वर्ष समूहका बढी, मोरङ, सुनसरी र झापा सबैभन्दा बढी प्रभावित
विराटनगर — प्रदेश १ मा पहिलोको तुलनामा कोरोनाको दोस्रो लहरमा पीसीआर परीक्षण कम भए पनि संक्रमण दर बढी देखिएको छ । संक्रमित हुनेमध्ये २१ देखि ४० वर्ष उमेर समूहभित्रका धेरै छन् ।
प्रदेश १ जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवको अनुसार अहिले कमैले पीसीआर परीक्षण गराउँदा समेत झन्डै ३० प्रतिशतको हाराहारीमा संक्रमण देखिन्छ । कोरोना कहर उत्कर्षमा पुगेको बेला गत वर्ष सामूहिक रुपमा परीक्षण गराउँदा संक्रमण दर २५ प्रतिशतको सेरोफेरोमा सीमित रहेको उनले बताए ।
गत एक हप्तामा प्रदेशमा १ हजार ६ सय ८ संक्रमित थपिएका छन् । उक्त अवधिमा प्रदेशमा ५ हजार ४ सय २ जनाले परीक्षण गराएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उक्त अवधिकै तथ्यांक विश्लेषण गर्दा पोजिटिभिटी रेट २९ प्रतिशत नाघेको देखिन्छ ।
प्रदेशभर शुक्रबारसम्म २ लाख ४२ हजार ३ सय ७९ जनाको परीक्षण गरिएकोमा ३२ हजार ६ सय ५१ जना पोजिटिभ देखिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी र झापा सबैभन्दा बढी प्रभावित छन् ।
कोरोना भाइरसको दोस्रो चरण फैलिएयता शुक्रबारसम्म मोरङमा १ हजार १ सय ५२ , सुनसरीमा ३ सय ७७ र झापामा ३ सय ४४ संक्रमित छन् । प्रदेश १ मा हाल सक्रिय संक्रमितको संख्या २ हजार १ सय ४१ पुगेको छ ।
मन्त्रालयका अनुसार शुक्रबार ३ जना डिस्चार्ज भएका छन् भने २ सय ९१ संक्रमित थपिएका छन् । यीमध्ये शुक्रबार मोरङमा १ सय ५३, सुनसरीमा ५५ र झापामा ५८ संक्रमित थपिएका हुन् । मोरङमा थपिएका १ सय ५३ मध्ये १ सय २० (७८ प्रतिशत) विराटनगरका भएको मन्त्रालयले जनाएको छ । शुक्रबार दुई जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुने संक्रमितको संख्या ४ सय ९२ पुगेको छ ।
‘गत वर्षको जस्तो मास परीक्षण भइरहेको छैन, पहिले आफै पनि जँचाउन आउनेको संख्या धेरै हुन्थ्यो,’ निर्देशक यादवले भने,‘अहिले लक्षण नदेखिएसम्म आउँदैनन् तर भइरहेका परीक्षणले संक्रमण दर बढी र तीव्र देखाउँछ ।’
उनका अनुसार गत वर्ष कोरोना भाइरस एकबाट दुई/चार जनामा सथ्र्यो भने अहिले एकले धेरैलाई संक्रमित बनाइरहेको देखिन्छ । यो नयाँ भाइरसले बालबालिका, युवायुवती र वृद्धवृद्धालगायत सबै उमेरकालाई समान रुपले घातक असर गरिरहेको यादवले बताए ।
मन्त्रालयका विज्ञ डा.रवीन्द्र निरौलाका अनुसार प्रदेशमा संक्रमितकालागि ७६ बेड आईसियू, ४७ भेन्टिलेटर, अक्सिजन चाहिने संक्रमितलाई राखिने ३३ एचडीयू ( हाई डिपेन्डेन्सी युनिट) र जनरल गरी ३ सय ९५ बेडको व्यवस्था छ । भर्ना हुने क्रम जारी रहेको उनले बताए ।
शुक्रबारसम्म अस्पतालमा भर्ना भएका १ सय ६७ मध्ये ३६ जना आईसियूमा र ६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । शुक्रबार आईसीयूमा एक, भेन्टिलेटरमा ३ र अन्य बेडमा गरी ३६ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
उनीहरुको कोसी अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेची अस्पताल, विराट मेडिकल कलेज, नोबेल मेडिकल कलेज, न्यूरो कार्डियो अस्पताल र बी एण्ड सी अस्पतालमा उपचार भइरहेको छ । मन्त्रालयका अनुसार प्रदेशभर शुक्रबार सम्म १ हजार ९ सय ७४ जना होम आइसोलेसनमा छन् । संस्थागत, घर र अन्य खाले आइसोलेसनमा बस्नेको संख्या २ हजार १ सय ४१ पुगेको छ ।
होम आइसोलेसन बस्नेले चिकित्सकको सम्पर्कमा बसेर अस्पताल जस्तै उपचार र खानपीनको नियम पालन गर्नुपर्ने प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले बताए । २ सय ९३ स्थलको क्वारेन्टाइनमा बेडको संख्या ५ हजार २ सय २९ रहेको उनले तयारी बारे थप जानकारी दिंदै बताए ।
कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लगाउने संयन्त्र काठमाडौ बाहिर नरहेको प्रयोगशालाका निर्देशक यादवले जनाएका छन् । ‘हामीसँग भएको पुरानो प्रविधिबाट नेगेटिभ वा पोजिटिभ मात्र पता लाग्छ,’उनले भने । तर संक्रमणको दर एवं प्रवृत्ति हेर्दा बेलायत र ब्राजिलबाट भारतसम्मको यात्रा तय गरेको नयाँ भेरियन्ट प्रदेश १ मा समेत आइपुगेको भन्नेमा शंका नरहेको यादवले बताए ।
समग्रमा कम उमेरमा बढ्दो संक्रमण अहिले थप चिन्ताको विषय बनेको विज्ञको भनाइ छ । यो प्रदेशमा २१ देखि ४० वर्ष उमेर समूहमा संक्रमण बढी देखिएको बस्नेतले बताए । उनका अनुसार समग्र तथ्यांकलाई केलाउँदा २१ देखि ३० उमेर समूहका २६.१५ प्रतिशत र ३१ देखि ४० वर्षका २३.७३ प्रतिशतमा संक्रमण देखिन्छ । सबैभन्दा कम संक्रमण १० वर्ष उमेर समूहभित्र २.४१ प्रतिशत र ७१ उमेर नाघेकामा मात्र ४.४० प्रतिशत छ ।
