रुपन्देहीको सैनामैनामा कोभिड १९ अस्थायी अस्पताल स्थापना

वैशाख १६, २०७८

अमृता अनमोल

बुटवल — लक्षणसहितका कोरोना संक्रमितको संख्या बढ्दै गएपछि रुपन्देहीको सैनामैना नगरपालिकाले कोभिड १९ अस्थायी अस्पताल सञ्चालन गरेको छ । पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयमा बिहीबारदेखि अस्थायी अस्पताल सञ्चालन गरेको हो ।

अस्पतालमा ६० बेड छन् । १० बेडमा अक्सिजन र ३ वटामा मोनिटरसमेत जडान गरिएको छ । भेन्टिलेटर र आईसीयू चाहिने बाहेकका नगरपालिकाभित्रका सबैखाले संक्रमितलाई यस अस्पतालमा राख्न सकिने नगरप्रमुख चित्रबहादुर कार्कीले बताए ।

नगरप्रमुख कार्कीका अनुसार ४५ वटा सामान्य आइसोलेसनका लागि छुट्याएको छ । त्यसबाहेकका विशेष बेड हुन् । ‘अब उपचार अभावमा कोरोना संक्रमित नगरबासी छट्पटिनुपर्ने छैन,’ उनले भने, ‘जसले समुदायमा संक्रमण फैलन नदिन र मृत्युदर घटाउन सहयोग गर्ने छ ।’ 

अस्पताल संचालनका लागि संघीय सरकारले १० लाख रुपैयाँ उपलब्ध गराएको छ । अपुग रकम प्रदेश सरकारले सघाउने बताएको छ । नगरपालिकाले गत चैतदेखि फागुनसम्म समेत अस्पताल चलाएको थियो । 

रुपन्देहीको सैनामैनास्थित कोभिड १९ कोरोना अस्थायी अस्पताल ।  तस्बिर : अमृता अनमोल/कान्तिपुर

कोरोना भाइरस

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

Link copied successfully