आफ्ना नागरिकलाई सकेसम्म चाँडो भारत छाड्न अमेरिकाको आग्रह

वैशाख १६, २०७८

कान्तिपुर संवाददाता

नयाँदिल्ली — भारतमा कोरोना महामारीले ‘सुनामी’ को रूपले लिएपछि अमेरिकाले आफ्ना नागरिकहरुलाई सकेसम्म चाँडो भारत छाड्न भनेको छ ।

अमेरिकाले कोरोनाका संक्रमण बढ्ने क्रमसँगै स्वास्थ्य सेवाको अत्यन्त अभाव हुन थालेकाले बुधबार चौथो तहको ट्राभल एडभाइजरी जारी गर्दै आफ्ना नागरिकहरुलाई सकेसम्म चाँडो भारत छाड्न आग्रह गरेको हो । चौथो तहको ट्राभल एडभाइजरीलाई निकै गम्भीर प्रकृतिको मानिन्छ । ‘अमेरिकी नागरिकलाई भारत भ्रमण नगर्न र सकेसम्म चाँडो भारत छाड्न आग्रह गरिन्छ,’ अमेरिकी विदेश मन्त्रालयद्वारा जारी एडभाइजरीमा भनिएको छ ।

भारतमा विगत केही केही साता यता कोरोना संक्रमण तीव्र हिसाबले बढी रहेको छ । पछिल्लो चौबीस घन्टामा मात्र ३ लाख ७९ हजार २ सय ५७ नयाँ संक्रमित थपिएका छन् भने ३ हजार ६ सय ४५ जनाले ज्यान गुमाएका छन् । महामारीका कारण अस्पतालहरुमा बेड, अक्सिजनको चरम अभाव देखिएको छ । विदेश मन्त्रालयले भारतका केही सहरहरुमा अमेरिकी नागरिकहरुले समेत अस्पतालमा भर्ना नपाएको जनाएको छ । 

त्यसैगरी अमेरिकी विदेश मन्त्रालयले ट्वीट गर्दै बढ्दो कोरोना संक्रमणका कारण स्वास्थ्य सेवाको पहुँच अत्यन्त सीमित बन्दै गएको हुँँदा भारत छाड्न चाहने अमेरिकी नागरिकहरुले हाल उपलब्ध विभिन्न विकल्पहरु प्रयोग गर्न पनि सुझाएको छ ।

अमेरिकाको जनस्वास्थ्य क्षेत्रसम्बन्धी प्रमुख नियम निकायले दुई साताअघि नै आफ्ना नागरिकहरुलाई खोपको पूरै डोज लगाएको भए पनि भारत नजान चेतावनी दिएको थियो । अमेरिकाको सेन्टर फर डिजिज एन्ड प्रिभेन्सन (सीडीसी) ले मंगलबार एउटा एड्भाइजरी जारी गर्दै त्यस्तो चेतावनी दिएको थियो । भारतमा विकसित नयाँ स्वरूपको कोरोना भाइरसको संक्रमणका कारण जोखिम बढेको भन्दै सीडीसीले उक्त निर्णय लिएको जनाएको छ ।

सीडीसीले संक्रमणको स्तरको हिसाबले भारतलाई चौथो तहमा राखेको थियो । यसको अर्थ भारतमा कोरोना महामारीको संक्रमणको जोखिम धेरै नै बढी छ भन्ने हो । सीडीसीले जनस्वास्थ्यसम्बन्धी आवश्यक नीति तर्जुमा गर्ने र निर्णय लिने अमेरिकाको सबैभन्दा प्रभावशाली निकाय हो । यदि भारत जानै पर्ने अवस्थामा पनि भ्रमणअघि खोप र सुरक्षाकाका सबै मापदण्ड पालना गर्नसमेत सीडीसीले भनेको थियो ।

बेलायतलगायतका अन्य केही मुलुकहरुले पनि महामारीकै कारण देखाएर भारतबाट हुने उडान बन्द गरिसकेका छन् भने केहीले भारतीयहरुको आगमनमा रोक लगाइसकेका छन् ।  

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully