तिलोत्तमाका सबै शैक्षिक संस्था बन्द

छात्रा प्रतिमा सापकोटाको निधनको कारण पत्ता लगाउन छानबिन समिति

वैशाख १२, २०७८

अमृता अनमोल, सन्जु पौडेल

बुटवल — कोभिड–१९ को संक्रमण बढ्दै गएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेका सम्पूर्ण शैक्षिक संस्थाहरु अर्को निर्णय नहुँदासम्मको लागि बन्द भएका छन् ।

विद्यालय सञ्चालन हुँदा संकट निस्कन सक्ने भन्दै आइतबार बसेको नगरपालिका स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको हो । बैठकले आइतबारदेखि लागू हुनेगरी नगरभित्रका सम्पूर्ण विद्यालय, कलेज, होस्टल, ट्युशन सेन्टर, तालिम सेन्टर पूर्णत: बन्द गर्ने र  सबै प्रकारका परीक्षाहरु समेत तत्काल स्थगित गर्ने निर्णय गरेको छ । 

बैठकले छात्रा प्रतिमा सापकोटाको निधनप्रति दु:ख व्यक्त गर्दै घटनाको विषयमा तीन दिनभित्र प्रतिवेदन पेश गर्नेगरी छानबिन समिति गठन गरेको छ । तिलोत्तमा–१ को नयाँमिल स्थित प्यारामाउन्ट बोर्डिङ स्कुलको होस्टलमा बसेर अध्ययन गर्ने सापकोटाको शनिबार मृत्यु भएको थियो । छानबिन समितिमा नगरपालिका शिक्षा शाखा प्रमुख उप–सचिव गंगाराम आचार्यको संयोजकत्वमा नगरपालिका शिक्षा समिति सदस्य टंकप्रसाद पौडेल, प्याब्सन तिलोत्तमा अध्यक्ष डिबी थापा, अभिभावक संघ तिलोत्तमाका अध्यक्ष नारायण ज्ञवाली र नगरपालिका कोरोना फोकल पर्सन केशव भट्टराई सदस्य छन् । बैठकले घटनामा धैर्य र संयमित रहन सबै पक्षलाई अपिल समेत गरेको प्रवक्ता सुरेन्द्र श्रीले बताए ।

बैठकले सम्पूर्ण हाटबजारहरु अर्को निर्णय नहुँदासम्मको लागि तत्काल बन्द गर्ने/गराउने, मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिक स्थानमा मानिसको जमघट हुनेगरी कुनै पनि कार्यक्रम नगर्ने/नगराउनेलगायतका निर्णय समेत गरेको छ । बैंक, वित्तीय संस्था, सहकारी, पसल, व्यवसाय, होटल सञ्चालन गर्दा जनस्वास्थ्यका आवश्यक साधनसहित मापदण्डलाई पूर्णरुपमा परिपालना गर्ने/गराउने, विवाह, व्रतबन्धन, न्वारन, पास्नी, धार्मिक अनुष्ठान, अन्तिम संस्कार जस्ता अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरु निर्धारित मापदण्डको पालन हुने गरी मात्र सञ्चालन गर्ने निर्णय गरेको सुचनामा उल्लेख छ । 

सार्वजनिक ठाउँमा हिँडडुल गर्दा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने तथा न्यूनतम २ मिटरको भौतिक दूरी कायम गर्ने, पटक–पटक साबुन–पानीले हात धुने अथवा गुणस्तरीय स्यानिटाइजर प्रयोग गर्न बैठकले नगरबासीलाई आग्रह गरेको छ । भारतबाट आउने नेपाली तथा अन्य व्यक्तिलाई परिवार, आफन्त, टोल विकास संस्थाहरुले कोरोना प्रोटोकलमा रहन सहजीकरण गर्ने तथा कुनै व्यक्तिलाई कोभिड–१९ को लक्ष्मण देखिएमा तत्कालै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने वा यकिन गर्न कोरोना परीक्षण गर्ने/गराउने निर्णय समेत भएको जारी सूचनामा उल्लेख छ । 

नगर प्रमुख बासुदेव घिमिरेको अध्यक्षतामा बसेको बैठकमा जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षा निकाय, सामुदायिक तथा संस्थागत विद्यालय, अभिभावक, व्यवसायिक संघ–संस्था, सञ्चारकर्मीका प्रतिनिधिहरुको सहभागिता थियो ।

कोरोना भाइरस

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully