भारतीय क्वारेन्टाइनमा रहेका नेपालीले आन्दोलन गर्न थाले 

वैशाख ३०, २०७७

माधव ढुंगाना

भैरहवा — तीन साता क्वारेन्टाइनमै बिताएपछि पनि स्वदेश आउन नपाएपछि भारतको नौतनवास्थित क्वारेन्टाइनमा रहेका सयौं नेपालीले आन्दोलन गर्न थालेका छन् । भोक हडतालसहितको आन्दोलन गर्नाले उनीहरुको व्यवस्थापन गरिरहेका भारतीय सुरक्षा अधिकारी र प्रशासनिक निकाय समस्यामा पर्न थालेको छ । भारतीय पक्षले क्वारेन्टाइन अवधि पूरा गरेका नेपालीलाई नेपाल लैजान बारम्बार आग्रहसमेत गर्न थालेको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले उनीहरुले बारम्बार आन्दोलन गर्न थालेपछि भारतीय पक्ष समस्यामा पर्न थालेको र आन्दोलन नगर्न आफूले सम्झाउने प्रयास गरिरहेको बताए । ‘मैले दुई पटकसम्म नेपालबाट अधिकृतहरु पठाएर आन्दोलन नगर्न सम्झाइबुझाइ गर्ने प्रयास गरेँ,’ पन्थले भने, ‘क्वारेन्टाइनमा बसेको धेरै दिन बित्दा पनि स्वदेश आउन नपाएका उनीहरुले आन्दोलन गर्ने गरिरहेका छन् ।’

लकडाउन र सिमाना सिल गरिँदा नेपाल–भारतबीच माथिल्लो स्तरमा नै जो जहाँ छ त्यहीँ नै सुरक्षित बस्ने भन्ने सहमति भएअनुरुप स्थानीय स्तरबाट अन्य निर्णय गर्न नसकिँदा क्वारेन्टाइन अवधि पूरा गरेकालाई पनि स्वदेश आउने अनुमति दिन नसकिएको नेपाली सुरक्षा अधिकारी बताउँछन् ।

नेपाली सुरक्षा अधिकारीका अनुसार, नौतनवाको क्वारेन्टाइनमा २१ दिन बिताइसकेका ७ सयभन्दा धेरैको विवरण प्राप्त भइसकेको छ । दिनहुँ सिमानाबाट लुकेर नेपाल छिर्न खोज्नेलाई फर्काएर भारतीय सुरक्षाकर्मीको साथमा क्वारेन्टाइनमा बस्न लगाइने गर्नाले यो संख्या बढिरहेको हो । भारतीय पक्षले थप ८ सयको हाराहारीमा नेपाली थपिएको जानकारी दिएका छन् । 

नौतनवामा रहेका नेपाली मेचीदेखि महाकालीसम्मका र विकट र हिमाली जिल्लाका समेत छन् ।

परीक्षणका लागि किट उपलब्ध भएको खण्डमा भारतीय क्वारेन्टाइन अवधि पूरा गरेका नेपालीलाई स्वदेश ल्याउने योजना अघि सारिएको पन्थले जनाए । उनका अनुसार, उनीहरुलाई नेपाल ल्याउनासाथ तत्कालै पीसीआर परीक्षण गरी नेगेटिभ आएमा सम्बन्धित जिल्लामा थप क्वारेन्टाइनमा बस्ने गरी पठाउने र पोजिटिभ आउनेलाई अस्पतालमा पठाउने गरी व्यवस्थापन गर्ने योजना छ । ।

‘यसका लागि स्वास्थ्य कार्यालयमार्फत् २ हजार किट माग गरिएको छ,’ पन्थले भने, ‘आवश्यकता अनुरुपको किट आउनासाथ निश्चित क्वारेन्टाइन अवधि पूरा गरी भारततर्फ रहेका नेपालीको तत्कालै व्यवस्थापन गर्न सकिन्छ ।’ 

लकडाउनकोरोना भाइरससीमानाका

माधव ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

Link copied successfully