बर्दिया — दिल्लीबाट घर फर्किएका बढैयाताल गाउँपालिका–५ खैसाका तीन युवा १४ दिनको क्वारेन्टाइन बसाइपछि घर फर्किए । उनीहरुको आरडीटी परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएका कारण घर पठाइएको हो ।
तर आसपासका गाउँमा हल्ला फैलियो—‘दिल्लीबाट आएका तीन जनाका कोरोना संक्रमण देखियो । गाउँ आइसकेका कारण चारैतिर कोरोना फैलिन थाल्यो ।’ अफवाह फैलिँदै गयो । आसपास गाउँका सर्वसाधारणहरुमा कोरोना भाइरसको त्रास बढ्यो । त्यही गाउँमा रहेको इँटा भट्टामा काम गर्ने भारतीय मजदुरको मृत्यु भएको खबर फेरि आगोझैँ फैलियो । ‘डोजरले शव पुरे । दाहसंस्कार नगरी घटना लुकाइयो’ यस्ता आधारहीन हल्ला गाउँमा फैलाइयो ।
धेरै हल्ला फैलिएपछि सत्यतथ्य बुझ्न इलाका प्रहरी कार्यालयबाट प्रहरी खटाइयो । प्रहरीले त्यस्तो कुनै पनि घटना नभएको जानकारी गराएपछि अफवाह रोकियो । आसपासका गाउँका सर्वसाधारणहरु सन्तोषको सास फेरे । ‘छेउको गाउँमा कोरोना लागेका व्यक्तिहरु आएको र मृत्यु भइसकेको खबरले निकै डर लागेको थियो । तर त्यो हल्ला रहेछ,’ खैसासँगै जोडिएको गाउँका सुन्दर चौधरी भन्छन्,‘हल्ला चलेपछि निद्रा लागेन । गाउँ नै सखाप हुने हल्लाले सबै डराएर बस्यौँ ।
बढैयाताल गाउँपालिका–५ हल्लनचोक र नयाँबस्तीका अधिकांश सर्वसाधारणहरु भारत र नेपालका विभिन्न सहरमा कामका लागि जाने गर्छन । लकडाउनको समय लम्बिँदै गएपछि उनीहरु पैदलै घर फर्किएका छन् । बाहिरबाट आएका उनीहरुलाई समान्य ज्वरो जाँच गरेर घर पठाइएको हो । तर आसपासका गाउँमा बाहिरबाट आएका व्यक्तिहरुले कोरोना भाइरस लिएर आएको हल्ला फेरि फिँजियो । त्यहाँका स्थानीयलाई हेर्ने दृष्टिकोण फेरियो ।
बढैयाताल गाउँपालिका–४ खैरेनीका सात जना भारतको दिल्लीबाट फर्किपछि १४ दिनको क्वारेन्टाइनमा राखियो । हाल उनीहरु घर फर्किएका छन् । क्वारेन्टाइनमा बसिसके पनि स्थानीयले शंका गर्न छाडेका छैनन् । उनीहरुका बारेमा अनावश्यक भ्रमहरु फैलाउने गरिएको छ । ‘क्वारेन्टाइनमा दुई हप्ता बसेर घर फर्किंदा पनि कोरोना भाइरस भन्दै कुरा काट्दा मन दुख्छ । हाम्रो बारेमा हुँदै नभएको हल्ला गरिन्छ,’ १४ दिनको बासपछि घर फर्किएका एक युवक भन्छन्, ‘हल्लाकै कारण कोरोनाको त्रास झन बढेको छ ।’ यहाँका विपन्न परिवारहरु भारतमा मजदुरीका लागि जाने गरेका छन् ।
बढैयाताल गाउँपालिका–१ डाँफेका ६ जना युवा भारतको दिल्लीबाट घर फर्किने क्रममा क्वारेन्टाइन पठाइयो । दुई साताको क्वारेन्टाइन बासपछि आरडीटी जाँच नेगेटिभ देखिएका कारण घर फिर्ता भएका छन् । उनीहरुलाई थप एक साता घरमै बस्न आग्रह गरिएको छ । रिपोर्ट नेगेटिभ आइसके पनि हेर्ने उनीहरुका बारेमा भ्रामक कुरा फैलाइएको छ । जसका कारण उनीहरुप्रति नकारात्मक धारणा बनदै गएको छ । बर्दियामा हालसम्म कोरोना भाइरसको जाँच नेगेटिभ आएको छ । हालसम्म ३ सय २३ को कोरोना जाँच गरिएको छ । इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक हिम खत्रीले हल्लाको पछि नलाग्न आग्रह गरिरहेको बताए । उनले गाउँमै पुगेर भ्रम चिर्ने प्रयास गरिरहेको जनाए ।
