भारतमा कोरोना संक्रमित १६ नेपालीमध्ये ७ जना निको भए, बाँकीको अवस्था सामान्य

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतमा कोभिड-१९ बाट संक्रमित सोह्र नेपालीमध्ये सात जना उपचारपछि निको भएका छन् । बाँकीको अवस्था पनि सामान्य रहेको छ ।

भारतमा कोरोना संक्रमित १६ नेपालीमध्ये ७ जना निको भए, बाँकीको अवस्था सामान्य

भारतमा संक्रमित नेपालीमध्ये सबैभन्दा बढी महाराष्ट्रका छन् । महाराष्ट्र भारतको संक्रमण अत्यधिक फैलिएको राज्यमा पनि पर्छ । सोही राज्यअन्तर्गत मुम्बईको गिरगाउँ चौपाटीमा बस्दै आएको एक नेपाली परिवारको आठ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । परिवारका बाँकी तीन सदस्यलाई भने संक्रमणले छोएको थिएन ।

सुदूरपश्चिमको अछाम मूल घर भएको यो नेपाली परिवार कामको सिलासिलामा मुम्बईमा बस्दै आएको थियो । संक्रमित नेपालीहरुमध्ये चारजना उपचारपछि डिस्चार्ज भइसकेको परिवारका एक सदस्यले कान्तिपुरलाई बताए । ‘मलगायत चार जना निको भएर डिस्चार्ज भइसकेका छौं भने बाँकी चारको अवस्था पनि सामान्य छ,’ परिवारका संक्रमितमध्येका एक सदस्यले भने । परिवारका अधिकांश सदस्यमा संक्रमण देखिँदा सुरुमा त सबैजना निराश भएका थिए । तर, उपचारपछि निको हुँदै गएपछि उनीहरुले राहत महसुस गरेका छन् । ‘सुरुमा त पुरै निराश भएका थियौं, तर, विस्तारै सबै निको हुँदै गएपछि भने हल्का भएको छ,’ ती सदस्यले भने । संक्रमितमध्ये एक जनालाई पीडब्लूडी अँधेरीको गेस्टहाउसको आइसोलेसनमा र बाँकी सात जनालाई सेभेन हिल र कस्तुरवा अस्पतालमा राखिएको थियो ।

त्यसैगरी दक्षिण भारतीय राज्य बैंग्लोर बस्ने एक नेपाली दम्पती पनि उपचारपछि निको भइसकेका छन् । तर, केही दिनअघि मात्र संक्रमण देखिएका उनीहरुको दश वर्षीय छोराको भने उपचार चलिरहेको छ । हाल उनलाई बैंग्लोरकै भिक्टोरिया अस्पतालमा राखिएको छ । उनको अवस्थामा पनि सामान्य रहेको छ । बझाङको चैनपुर स्थायी घर भएको यो परिवार पनि कामकै सिलसिलामा भारतमा बस्दै आएको थियो । सुरुमा ती बालकका ४५ वर्षीय बुबा र ३५ वर्षीया आमामा कोभिड–१९ देखिएको थियो । संक्रमित महिला एक भारतीय परिवारमा घरेलु कामदारका रुपमा कार्यरत थिइन् । र, उक्त परिवारकी एक महिला सदस्य गत १२ मार्चमा लण्डनबाट बैंग्लोर आएकी थिइन् । दुई दिन घरमा बसेकी उनलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । पछि स्वास्थ्य परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उक्त भारतीय परिवारको घरमा काम गर्नेहरु सबैलाई बैंग्लोरकै भिक्टोरिया अस्पतालमा आइसोलेसनमा राखेर स्वास्थ्य परीक्षण गरियो । दुई दिनपछि आएको स्वास्थ्य परीक्षण रिपोर्टमा ती नेपाली महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको हो । पछि उनका श्रीमानमा पनि संक्रमण देखियो । उनीहरु दुवै जना भने निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

यसका साथै भारतको विभिन्न स्थानमा भएका इस्लामिक भेलामा सहभागी आउन हरियाणाको अम्बालाका संक्रमित ६५ वर्षीय एक नेपाली पनि उपचारपछि ठीक भइसकेका छन् । दिल्लीको इस्लामिक भेलामा सहभागी भएर अम्बाला पुगेका आठ नेपालीमध्ये उनमा मात्र कोरोना भाइरसको संक्रमण देखिएको थियो । त्यसैगरी उत्तरप्रदेशको बागपतको खेखडा पुगेका २८ जना नेपालीमध्ये चार जनामा पनि संक्रमण देखिएको छ । उनीहरु पनि त्यहीँकै इस्लामिक भेलामा सहभागी हुन नेपालबाट आएका थिए । संक्रमितहरुको उत्तर प्रदेशको मेरठस्थित स्थानीय अस्पतालमा उपचार चलिरहेको छ र अवस्था सामान्य छ ।

प्रकाशित : वैशाख १०, २०७७ १२:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?