भारतमा दुई दिनका लागि ऱ्यापिड टेस्टिङ किटको प्रयोगमा रोक

वैशाख १०, २०७७

एजेन्सी

नयाँदिल्ली — भारतमा दुई दिनका लागि र्‍यापिड टेस्टिङ किटबाट परीक्षण रोकिने भएको छ । ऱ्यापिड टेस्टिङ किट(द्रुत परीक्षण किट) को विश्वसनीयतामाथि प्रश्न उठिरहेका बेला इन्डियन काउन्सिल फर मेडिकल रिसर्च(आईसीएमआर) ले दुई दिनका लागि ऱ्यापिड टेस्टिङ किटको प्रयोग नगर्न सबै राज्यहरुलाई निर्देशन दिएको हो । 

 

केही ठाउँमा ऱ्यापिड टेस्टिङ किटबाट गरिएको परीक्षणको नतिजा सही नदेखिएको र धेरै गुनासो आएपछि आईसीएमआरले दुई दिनका लागि किटको प्रयोग नगर्न भनेको हो । आईसीएमआरका अनुसार ती किटको पुन: परीक्षण हुने र त्यसमा कुनै खराबी नदेखिए मात्रै दुई दिनपछि प्रयोगको अनुमति दिइनेछ 

आईसीएमआरका प्रवक्ता डा. आरआर गंगाखेडरका अनुसार परीक्षणमा खराबी देखिए निर्माताबाट नयाँ किट मगाइनेछ ।  मंगलबार राजस्थान सरकारले किटमा खराबी देखिएको गुनासो गरेको थियो ।

मंगलबारसम्मको तथ्यांकअनुसार भारतले ४ लाख ४७ हजार ८ सय १२ जनाबाट संकलन गरिएको ४ लाख ६२ हजार ६ सय २१ नमुना परीक्षण गरिसकेको छ ।

जोन होप्किन्स विश्वविद्यालयको कोरोना रिसोर्स सेन्टरका अनुसार बुधबार बिहानसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २० हजार एक सय ११ पुगेको छ । त्यस्तै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ४५ पुगेको छ भने ३ हजार ९ सय ७५ जना निको भएका छन् । 

 

एजेन्सी

Link copied successfully