दुई दिनदेखि भोकभोकै आमा र छोरीहरु

वैशाख ६, २०७७

कमल पन्थी

बर्दिया — सदरमुकाम गुलरियामा चाट बेचेर गुजारा चलाउँदै आएकी ३० वर्षीया सुशीला पासी छोरी काखमा च्यापेर वडा कार्यालयमा भक्कानो छोडेर रुन थालिन् । निकै बेरसम्म पासी रोएको देखेर उनकी डेढ वर्षकी नानी पनि रुन थालिन् ।

शुक्रबार दिउँसो १ बजे वडा नम्बर ६ स्थित कार्यालय बाहिर आमा–छोरी रोएको सुनेर वडा अध्यक्ष निरज शर्मा, सदस्य सुधांशु शर्मालगायत प्रतिनिधि कार्यकक्ष बाहिर आए । उनी रोएको समस्या बुझ्न जनप्रतिनिधीलाई निकै बेर लाग्यो । 

भोकाएर गलेकी पासी बोल्न सकेकी थिइनन् । आफू र तीन छोरीले दुई दिनदेखि केही खान नपाएको बताइन् । बिहीबार बिहान छोरीहरुलाई अरुले दिएको खान खुवाएकी उनी आफू भने भोकै रहेको सुनाइन् । चाट बेचेर कमाइ गर्दे आएका श्रीमान मसला खरिद गर्न सिमावर्ती भारतको मिहीपुरुवा गएका थिए । लकडाउन पछि उनी गुलरिया आउन पाएनन् ।

उनको कहालीलाग्दो अनुहार देखेपछि वडाका प्रतिनिधीले तत्काललाई छाक टार्न चामल, दाल, नुन र तेलको व्यवस्था गरिदिए ।

उनी जस्तै भारत लखिमपुर घर भइ गुलरिया—५ मा बस्दै आएका राधेश्याम कुर्मी मिठाइ बनाउने कारीगर हुन् । लकडाउनले रोजगारी गुमेपछि केही दिन छिमेकीसँग मागेर खाना खाएको बताए । अहिले श्रीमतीसहित भोकै बस्न बाध्य भएर वडा कार्यालयमा आएकाछन् । गुलरिया—६ का आशरानी शाह कब्बर खनेर गुजारा चलाउँदै आएका थिए । लकडाउनले बाहिर जाने अवस्था नभएपछि कब्बर खन्ने काम रोकिएको छ । वडा कार्यालयका वडा अध्यक्ष शर्मा र सदस्य सुधांशुले भोकै बसेकाका लागि चामल, दाल, तेल र नुन व्यक्तिगत रुपमा खरिद गरि वितरण गरेका छन् । गुलरिया नपाको सबैभन्दा बढी वडा नम्बर ६ मा दैनिक ज्यालादारी गरि काम गर्ने मजदुर करिब २ सय छन् । तीमध्ये ५० जना टाँगा चलाएर परिवार पाल्दै आएका छन् । लकडाउन पछि टाँगा चल्न बन्द भएको छ ।

राहत वितरणमा ढिलाइ

गुलरिया नगरपालिकामा राहत वितरणमा ढिलासुस्ती भएका कारण भोकै बस्नेको संख्या बढ्दै गएको वडा अध्यक्ष शर्माले बताए । मजदुर भन्दा हुने खानेको संख्या बढेपछि गुलरिया नगरपालिकामा विवाद भएपछि केही वडामा राहत वितरण कार्य रोकिएको छ ।  दैनिक गुजरा गरि मजदुरी गर्दे आएका गरिब परिवारलाई राहत उपलब्ध गराउन गुलरिया नगरपालिकाले निवेदन माग गरेपछि हुने खानेको ताँती लागेको छ । लकडाउन पछि उनीहरु मजदुरी गर्न नपाएपछि नगरपालिकाले गाइड लाइन बनाएर वडा मार्फत राहत वितरणका लागि निवेदन माग गर्दा हुने खानेको चाङ बढेपछि छानबिन सुरु गरेको नगर प्रमुख मुक्तिनाथ यादवले बताए । हुनेखाने धेरै जनाको नाम काटछाँट गर्न वडालाई निर्देशन दिएका छौं,’ नगरप्रमुख यादवले भने, ‘बाढी आएको समयमा पनि हुने खाने नै राहत लिने बढी थिए, अहिले पनि उस्तै छ ।’

कोरोना भाइरस संक्रमण भइरहेको समय बाँडिने राहतमा बाढी पीडितलाई बाँडे जस्तो भद्रगोल हुन नदिन पालिकाले कडाइ गरेको जनाएको छ । दैनिक ज्यालादारी गर्ने मजदुरलाई मापदण्ड अनुसार राहत प्रति परिवार २५ किलो चामल, २ किलो दाल, १ किलो नुन, २ लिटर खाने तेल र २ वटा साबुन उपलब्ध गराउने निर्देशिकामा उल्लेख छ । 

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully