पाल्पामा परीक्षण गरिएका ४३ जनाकै नतिजा ‘नेगेटिभ’

चैत्र २९, २०७६

माधव अर्याल

काठमाडौँ — पाल्पाका तीन स्थानमा गरिएको र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमार्फत् गरिएको परीक्षणमा कोभिड–१९ को नतिजा नेगेटिभ देखिएको छ । 

जिल्लाको भुवनपोखरी, सिलुवा र रामपुरमा नमुनाका रुपमा ४३ जनाको परीक्षण गरिएको थियो । प्रमुख जिल्ला अधिकारी यादव सुवेदीका अनुसार सबैको नतिजा नेगेटिभ आएको छ । यो जिल्लावासीका लागि खुसीको कुरा भएको उनले बताए । उनका अनुसार पाल्पा अस्पतालबाट एक, मिसन अस्पतालबाट एक र लुम्विनी मेडिकल कलेजबाट तीन जनाको स्वाब परीक्षणमा पनि नेगेटिभ देखिएको छ । 

शुक्रबार कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा सहयोग, समन्वय, सहजीकरण र अनुगमनलगायतका कार्यहरु प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि गठित कमाण्ड पोस्टका बैठकले जिल्लाका रैनादेवी छहरा, रिब्दीकोट, पूर्वखोला र रामपुरमा क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको कोभिड–१९ र्‍यापिड डायगनोस्टिक टेस्ट किटमार्फत परीक्षण गर्ने निर्णय भएको थियो । 

कोभिड–१९ नेगेटिभ देखिएमा निजहरुलाई थप एक साता घरकै क्वारेन्टाइनमा बस्ने गरी घरमा पठाउने निर्णय भएको थियो । ‘केही व्यक्तिमा कोभिड–१९ पोजिटिभ देखिएमा स्वाब निकाली निजहरुलाई सम्बन्धित पालिकाको एम्बुलेन्समार्फत अस्पतालमा ल्याई आइसोलेसनमा राख्ने निर्णय भएको छ,’ प्रजिअ सुवेदीले भने । पहिलो चरणमा  र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमार्फत् क्वारेन्टाइनमा बसेका बाहेकका व्यक्तिहरुको भने नमुना लिइएको छैन । रैनादेवी छहरामा १०, रिब्दीकोटमा ३, रामपुर नगरपालिकामा ९ र सिलुवामा २१ जनामा र्‍यापिड डायगनोस्टिक टेस्ट किटमार्फत् परीक्षण गरिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । 

क्वारेन्टाइनमा बसेर १४ दिन पुगिसकेकाहरुका लागि टेस्ट गरिएको रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले बताए । स्वास्थ्य कार्यालय, युनाईटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजका स्वास्थ्यकर्मीहरुको टोलीले क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको स्वास्थ्य परीक्षण गरेको । चैत १ गतेपछि जिल्लामा एक हजारभन्दा बढी भारतबाट भित्रिएपछि ग्रामीण क्षेत्रमा त्रास फैलिएको थियो ।

कोरोना भाइरस

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully