बुटवल — प्रदेश ५ मा कोभिड–१९ को आशंका गरिएका ५२ बिरामीमध्ये ३६ जनाको स्वाब परीक्षण गर्दा २३ जनामा नेगेटिभ देखिएको छ । १३ जनाको नतिजा आउन बाँकी छ । आशंका गरिएकामध्ये २९ जनालाई आइसोलेसन अस्पतालमा राखिएको छ ।
हवाई सेवा बन्द भएकाले अस्पतालहरूले एम्बुलेन्समार्फत स्वाबको नमुना काठमाडौं पठाइरहेका छन् । जसले गर्दा परीक्षणको नतिजा आउन ढिला भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीका अनुसार बुटवल धागो कारखानामा आठ, बाँकेको अर्वुद रोग अस्पतालमा १०, दाङको राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठानमा पाँच, दाङकै बेलझुन्डीमा दुई, बर्दिया अस्पतालमा एक र तौलिहवा अस्पतालमा तीन जना बिरामी आइसोलेसनमा छन् ।
प्रदेशमा कोभिड–१९ आशंका गरिएका बिरामीको नमुना लिन सक्ने स्वास्थ्यकर्मी १७ जना मात्र छन् । स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) ९० थान शुक्रबार थपिएको छ । प्रदेशमा ५० वटा मात्रै रहेकामा संघीय सरकारले थप पीपीई उपलब्ध गराएको हो । ‘सैनामैना लगायतका स्थानमा समेत पीपीई बनाइँदै छ,’ डा. चौधरीले भने, ‘अब सहज होला ।’
स्वास्थ्यकर्मीको मनोबल बढाउन प्रदेश सरकारले उपचारमा खट्ने स्वास्थ्यकर्मीलाई शतप्रतिशत भत्ता व्यवस्था गरेको छ । सामाजिक विकास मन्त्री सुदर्शन बरालले स्वास्थ्यकर्मीको सुरक्षा र सुविधामा सम्झौता नगर्ने दाबी गरे ।
कोभिड–१९ बाट कोही संक्रमित भइहाले उपचार गर्न भनी खोलिएका अस्पतालमा भेन्टिलेटरसहितको आईसीयू जडान गर्न भने समस्या देखिएको छ । सामान खरिद प्रक्रिया थालिए पनि बजारमा सामान अभाव रहेको मन्त्रालयले जनाएको छ ।
