क्‍वारेन्टाइनबाट 'भागे' भारतबाट आएका नेपाली

चैत्र १०, २०७६

मधु शाही

नेपालगञ्ज — सोमबार बिहान भारतका विभिन्न स्थानबाट नेपाल प्रवेश गरेका नेपाली सरकारले व्यवस्था गरेको क्‍वारेन्टाइनबाट 'भागेका' छन् ।



जमुनाह नाकामा अलपत्र परेका झन्डै ५ सय ४० जनालाई बाँके जिल्ला प्रशासन र नेपालगञ्‍ज उपमहानगरले उद्धार गरी नेपाल ल्याएको थियो । आफूहरुलाई कि त घर जान दिनुपर्ने कि व्यवस्थित तरिकाले राख्‍नुपर्ने भनेर आन्दोलन उनीहरुले गरेका थिए । 

निकै सानो संख्यामा रहेका सुरक्षाकर्मीले सम्झाउँदा नमानेका उनीहरु पर्खाल चढेर क्याम्पसबाट निस्किएका हुन् । 'कोही खेतमा पुगेर लुके कोही टेम्पु चढेर हिँडे, हामीले रोक्‍न सकेनौं,' एक प्रहरीले भने । 

बिहान १० भन्दा पहिले नाकामा आइपुगेकालाई ज्वरो नापेपछि नगर बसमा राखेर सीमा नाका नजिकै महेन्द्र बहुमुखी क्याम्पसमा लगि राखिएको थियो । क्‍वारेन्टाइनका लागि छुट्याइएको स्थानमा कुनै सुविधा नभएको र एउटै कोठामा ३०-३५ जनालाई राखिएको भन्दै उनीहरुले असन्तुष्टि जनाएका थिए । उनीहरुमध्ये केही हिजैदेखि केही नखाएका पनि थिए । ठूलो संख्यामा आइपुग्दा क्‍वारेन्टाइनस्थलमा रहेका सबैजना निस्किइसकेका थिए । 

क्‍वारेन्टाइन व्यवस्थापन गरेको उपमहानगरकी उपमेयर उमा थापाले भारतबाट आएका नेपाली क्‍वारेन्टाइनबाट भागेको बताइन् । 'सीमामा अलपत्र परेका ५ सय ४० जनालाई ल्याएर राखेका थियौं । हामीले व्यवस्था मिलाउँदै थियौं, उहाँहरु भागिसक्‍नुभएछ,' थापाले भनिन् । 


सिडिओ भन्छन्- 'हाम्रो रेकर्डमा भएका सबै छन्, को भाग्यो मलाई थाहा छैन' 

जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख कुमारबहादुर खड्काले भने भारतबाट आएका नेपाली क्‍वारेन्टाइनबाट भागेको अस्वीकार गरे । 'हामीले क्‍वारेन्टाइनमा राखेका नेपाली हाम्रो रेकर्डमा छन् । बसै सुरक्षित छन् । को भाग्यो मलाई थाहा छैन,' उनले भने । उनले यस्तो बताए पनि बिहान दस बजे रुपैडियाँ-जमुनाहाबाट ल्याइएका नेपाली दिउसो तीन बजे भागेका थिए । यसको भिडियोसमेत कान्तिपुरले प्राप्त गरिसकेको छ । 


सीमानाकाकोरोना भाइरस

मधु

Link copied successfully