बारामा एमाले पहिलो, कांग्रेस दोस्रो

१ पालिकाबाहेक सबैमा नयाँ अनुहार 
१६ पालिकामध्ये ५ एमाले, ४ कांग्रेस, ३ जसपा, २ लोसपा, १/१ पालिका माओवादी र विवेकशील साझा पार्टीले जितेका हुन् 
लक्ष्मी साह

बारा — मंगलबार बाराको १६ वटै पालिकाको मतगणना टुंगो लागेको छ । वैशाख ३० देखि सुरु भएको गणना १० औं दिनमा टुंगो लागेको हो । २०७४ को चुनावमा जिल्लामा चौथो दल रहेका एमाले यस वर्ष पहिलो भएका हुन् । त्यस वर्ष पहिलो रहेको नेपाली कांग्रेस यस वर्ष दोस्रो भएको हो ।

बारामा एमाले पहिलो, कांग्रेस दोस्रो

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेले जिल्लाको कलैया उपमहानगर, निजगढ र पचरौता नगरपालिका, परवानीपुर र प्रसौनी गाउँपालिकामा प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष जितेको हो । २०७४ सालको स्थानीय चुनावमा यो दलले जीतपुरसिमरा उपमहानगरपालिका र कोल्हवी नगरपालिकामा जित हासिल गरेको थियो । निजगढ नगरपालिकामा एमालेले २०७४ मा उपप्रमुख मात्र जितेको थियो । यसपालि भने एमाले ३ वटा पालिका बढाएर पाँचवटा पालिकामा विजयी भएको हो । यसअघि जितेका पालिका जीतपुरसिमरा र कोल्हवी नगरपालिका गुमाएको हो । निजगढमा भने एमालेले यसपालि प्रमुखसहित उपप्रमुख पनि जितेको छ ।

निजगढ र कलैयाको गठबन्धनलाई पराजित गरी प्रमुख र उपप्रमुखमा विजयी भएको हो । २०७४ मा जितेको पालिका भने उसले दोहर्‍याउन सकेन । १६ वटै पालिकामध्ये महागढीमाई नगरपालिकाबाहेक सबै (१५ वटै) मा नयाँ अनुहार जितेका हुन् । पुरानाहरू कतै दोस्रो कतै तेस्रो स्थानमा आएका छन् ।

जिल्लामा दोस्रोमा भने नेपाली कांग्रेस भएको हो । कांग्रेसले कोल्हवी र महागढीमाई नगरपालिकासहित आदर्शकोतवाल र सुवर्ण गाउँपालिका गरी चारवटा पालिका जितेको हो । उसले महागढीमाई नगरपालिकामा प्रमुख र उपप्रमुख दोहर्‍याउन सफल भएका हुन् । महागढीमाई नगरपालिकामा भने कांग्रेसको जिल्ला सभापति राजेश राय यादवले अहिले दोस्रो पटक प्रमुख र उपप्रमुख भएका क्रमशः उपेन्द्र यादव र तारा देवी कानुलाई टिकट दिन मानेका थिएनन् । तर केन्द्रको दबाबले दुवैले टिकट पाएर उनीहरू मात्र जिल्लामा कांग्रेसबाट दोस्रो पटक जित हात पारेका हुन् । कांग्रेसले त्यस बेला ६ वटा पालिका जितेको थियो ।

कांग्रेस ६ वटा पालिकाबाट यसपालि ४ वटामा झरेको हो । उसले यसपालि कलैया उपमहानगर, निजगढ र सिम्रौनगढ नगरपालिका गुमाएको छ । यसैगरी कांग्रेसले बारागढी र करैयामाई गाउँपालिका समेत गुमाएको हो । २०७४ को चुनावमा जसपाले जितेको ४ वटा पालिकाबाट घटेर यसपालि ३ वटामा झरेको हो । उसले गत चुनावमा जितेका बाहेक देवताल, करैयामाई र बारागढीमा प्रमुख जितेको छ । आदर्शकोतवाल, फेटा र सुवर्ण गाउँपालिका गुमाएको हो । यसैगरी उसले पचरौता नगरपालिका पनि गुमाएको हो । यसरी २०७४ मा लोसपाले भने तीनवटा पालिका जितेकोमा यसपालि एक नगरपालिका सिम्रौनगढ र विश्रामपुर गाउँपालिका गरी २ वटामा जिते हात पारेको छ । उसको पनि पहिलाभन्दा अहिले एउटा पालिका घटेको छ ।

विवेकशीलले यसपालि मात्र फेटा गाउँपालिका गरी एकवटा पालिकामा अध्यक्ष/उपाध्यक्ष जितेका हुन् । विवेकशीलका विजयी उम्मेदवार रुस्तम अन्सारीले आफ्नो अनुकूलका वडामा कांग्रेसले टिकट नदिएपछि उनले आफूले अध्यक्षका लागि पाएको कांग्रेसको टिकट मनोनयन दर्ताकै दिन च्यातेर फाल्दै विवेकशील साझाबाट टिकट लिएर विजयी भएका हुन् । यसैगरी २०७४ मा शून्य पालिकामा सीमित भएको नेकपा माओवादी केन्द्र यसपालि जितपुरसिमरा उपमहानगरमा प्रमुख पद गठबन्धनबाट हात पारेको छ भने एमालेबाट उपप्रमुख जितेको छ । राप्रपा, नेकपा समाजवादीले भने कुनै पालिकामा जित हासिल गर्न सकेनन् ।

प्रकाशित : जेष्ठ ११, २०७९ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?