चितवन — भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका पुराना कांग्रेस नेता जगन्नाथ पौडेलले आफूलाई आएको मत सचेत नागरिक र डर धाक धम्कीबाट पछाडि नहट्ने मतदाताहरुको रहेको बताएका छन् ।
‘निर्वाचित नभए पनि मलाई जे जसरी मत आयो यो सन्तोषजनक हो,’ बुधबार बिहान भरतपुर लंकूमा भएको पत्रकार सम्मेलनमा नेता पौडेलले भने । पद, पैसाको लोभ र कारवाहीको डर नभएकाहरूले दिएको यो मत निकै शक्तिशाली भएको उनले जिकिर गरे ।
भरतपुर महानगरपालिकामा मेयर पदमा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल ५२ हजार २८ मत ल्याएर निर्वचित भएकी छन् । पौडेलले १४ हजार ७२८ मत ल्याएर तेस्रो भए । ‘१०/१२ हजार मत जुन हामीलाई आएको देखिन्छ त्यो बदर भएको छ । रुख र हाम्रो चुनाव चिन्ह भुईंकटरमा छाप लगाएर ती बदर भए । प्राविधिक रूपमा बदर मत गणना नहोला तर हामीलाई समर्थन त हो नि । दुवै जोड्दा हामीले ल्याएको मत चितवनको राजनीतिलाई निर्णायक मोड दिन पर्याप्त छ भन्ने लाग्छ,’ पौडेलले भने ।
अब आउने संघीय संसद् र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन भन्दै केही मान्छेको स्वार्थ पूरा गर्ने, देशको लोकतान्त्रिक पद्दतिलाई योगदान नपुर्याउने भए आफूहरु सोच विचार गरेर अगाडि बढ्ने उनले बताए । ‘तर अहिले हामी दलहरुलाई सचेत गराउने, पार्टीहरुले कार्यकर्ताको मनोविज्ञानलाई बुझेर निर्णय गरून् भन्नेमा नै हाम्रो ध्यान जान्छ । अलग दिशामा जाने बारेमा अहिल्यै केही निर्णय गरेका छैनौं,’ पौडेलले भने । सत्ता प्राप्तका लागि लागेका अहिले आफूहरूबाट डराएको उनले बताए ।
पार्टीले कारबाही गरेको भने पनि त्यो तर्साउनका लागि मात्रै भएको उनले बताए । ‘हामीले केही कसुर गरेका नै छैनौँ । पार्टीको विधान उल्लंघन गरेका छैनौं । हामीलाई विधानको यो धारा उल्लंघन गरेको भनिएको छैन । प्रस्टीकरण त नसोधेको तर्साउनलाई मात्र हो भन्ने लाग्छ । यदि कारबाही गरे हामी कानुनी उपचारमा पनि जान्छौं,’ वरिष्ठ अधिवक्तासमेत रहेको नेता पौडेलले भने । गठबन्धन गरे पनि भरतपुरमा मेयर नेपाली कांग्रेसले नै पाउनु पर्दछ भन्ने आम कार्यकर्ताको मागलाई आफूले स्वीकार मात्रै गरेको उनले बताए ।
‘जिल्लाले नै यसो भन्दै एक मतले निर्णय गरेको छ । आम भरतपुरका कांग्रेस नेता कार्यकर्ताको माग यही हो । त्योअनुसार नभएपछि मैले उम्मेदवारी दिएको हुँ । म कांग्रेसविरुद्ध लागेकै होइन, त्यसैले किन कारबाही भोग्ने ?,’ पौडेलले भने । पौडेलले उम्मेदवारी दिएपछि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले फोन गरेर फिर्ता लिन अनुरोध गरेका थिए ।
पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली, गृहमन्त्री बालकृष्ण खाँण, राज्यमन्त्री उमेश श्रेष्ठले घरमै गएर पौडेललाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । फिर्ता नभएपछि उनीलगायतका चितवन कांग्रेसका पुराना नेता कार्यकर्ता कारबाहीमा परेका छन् ।
