रोशी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका लामा र उपाध्यक्षमा माओवादीका वाइवा विजयी
काभ्रे — रोशी गाउँपालिकामा गठबन्धनतर्फका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका दिनेश लामा र उपाध्यक्षमा माओवादी केन्द्रका मिमबहादुर वाइवा विजयी भएका हुन् ।
अध्यक्षमा लामाले ७ हजार ५ सय ३४ र एमालेका देवसागर लामाले ६ हजार ३ सय ५८ मत ल्याएका छन् । उपाध्यक्षमा माओवादी केन्द्रका मिमबहादुर वाइवा निर्वाचित भएका छन् ।
वाइवाले ६ हजार ६ सय ७२ र एमालेकी बबिता बोहरा क्षेत्रीले ५ हजार ९ सय ४३ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा निर्वाचित वाइवा २०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पदमा पराजित भएका थिए । तत्कालीन मधेशी जनअधिकार फोरमसँग गठबन्धन गरेका उनले २ हजार २ सय १९ मत ल्याएर तेस्रो भएका थिए ।
२०७४ सालमा कांग्रेसका तर्फबाट उम्मेदवार बनेका दलबहादुर लामा ४ हजार ३ सय ७२ मतसहित विजयी भएका थिए । उपाध्यक्षमा कांग्रेसकै लक्ष्मी कुमारी उप्रेती (बर्तौला) ३ हजार ८ सय ९८ मतसहित विजयी भएकी थिइन् ।
प्रकाशित : जेष्ठ ५, २०७९ १८:५४